काठमाडौं । देउराली बचत तथा ऋण सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईं पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले काभ्रेका ३९ वर्षीय रवीन्द्र चौलागाईंलाई पक्राउ गरेको हो ।
चौलागाईंमाथि सहकारीको ४ करोड ४९ लाख ९९ हजार ४ सय ४३ रुपैयाँ हिनामिना गरेको आरोप छ । संचालक समितिका सदस्यहरुले निक्षेपकर्ताहरुलाई आर्कषक ब्याजदर दिने भन्दै प्रलोभन देखाएर रकम सहकारी मुद्दती,निक्षेप, आवधिक बचत, शेयर तथा विभिन्न बचत खातामा जम्मा लगाएका थिए ।
मासिक,त्रैमासिक र वार्षिक रुपमा ब्याज पाउने तथा निर्धारित अवधि नाघेपछि निक्षेपको सम्पूर्ण साँवा, ब्याज फिर्ता पाउने विश्वासका बचतकर्ताहरुले रकम जम्मा गरेपनि सहकारीले फिर्ता नगरेपछि पीडित प्रहरीमा उजुरी गरेका थिए ।