काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले दसैँमा विदेशबाट नेपाल फर्कँदा यात्रुले ल्याउन पाउने वस्तुहरूको सूची सार्वजनिक गरेको छ । आज भन्सार कार्यालयले एक सुचना जारी गर्दै वैदेशिक रोजगारीमा गएका नेपालीले घर फर्कँदा ल्याउन मिल्ने र नमिल्ने वस्तुको सूची निकालेको हो ।
भन्सार कार्यालयका अनुसार विदेशबाट नेपाल फर्कने यात्रुले साथमा निश्चित परिमाणमा सुनका गहना, मोबाइल तथा टेलिभिजन ल्याउन पाउँछन् । जसमा कार्यालयका अनुसार घर फर्कँदा महिलाको हकमा ५० ग्राम र पुरुषको हकमा २५ ग्राम सुनको गहनामा भन्सार नतिरी ल्याउन छुट दिइएको छ । यस्तै, एक जना व्यक्तिले महिला र पुरुषको हकमा थप २०० ग्रामसम्म सुनको गहना भन्सार बिन्दुमा महसुल तिरेर ल्याउन पाउने व्यवस्था छ । गहनाको आकार मात्रै दिएर बनाइएका बेरुवा औँठी, बाला, सिक्री जस्ता रसायन प्रयोग नगरिएका सुनलाई गहनाको मान्यता नदिने कानुनी व्यवस्था रहेको छ ।
श्रम स्वीकृति लिएर लगातार १२ महिना काम गरेको र सामाजिक सुरक्षा कोषमा सुचिकृत भएका नेपाली यात्रुले जुनसुकै आकार वा प्रकारको टेलिभिजन ल्याउँदा भन्सार तिर्नुपर्ने छैन ।
तर सामाजिक सुरक्षा कोषमा आवद्ध नभएका नेपाली यात्रुले भने ३२ इञ्चसम्मको टेलिभिजन मात्र भन्सारी नतिरी ल्याउन पाउनेछन् ।त्यस्तै, ५ हजारभन्दा बढी अमेरिकी डलर बोकेर आउने यात्रुले विमानस्थलमा स्वघोषणा गर्नुपर्ने समेत भन्सार कार्यालयले जनाएको छ। यसरी स्वघोषणा गर्दा कुनै शुल्क भने लाग्ने छैन ।
कार्यालयले दसैँ, तिहार तथा छठमा विदेशबाट आउने यात्रुले आफ्नो व्यक्तिगत प्रयोजनका लागि कानुनले छुट सुविधा दिएका सामान मात्रै ल्याउन अनुरोध गरेको छ । कानुनले छुट दिएका बाहेकका सामान ल्याउँदै नल्याउन कार्यालयले वैदेशिक रोजगारीमा गएकाहरूलाई अनुरोध गरेको छ ।
तर अरुको सामान नल्याउन विमानस्थल भन्सार कार्यालयले सचेत गराएको छ । पछिलो समय साउदी अरब, यूएई, कतार, हङकङ, थाल्याण्ड तथा मलेसियाका अन्तर्राष्ट्रिय विमानस्थल र आसपासबाट अपरिचत व्यक्तिले घरमा पुर्याउने उपहार हो भनेर वा केही पैसा दिन्छु भन्ने प्रलोभन देखाएर ल्यापटप, मोबाइल, सुन, घडी लगायतका सामान पठाउने गरेको भन्दै कार्यालयले भनेको छ, ‘यात्रुहरुले मापदडभन्दा बढी मालवस्तु लिएर आउने र भन्सार तथा प्रहरीको कारबाहीमा परी त्यस्तो मलवस्तु जफत हुने तथा सो बराबर मुल्य धरौटी जरिवाना तथा कैद सजाय पाउने गरेका छन् ।’





