काठमाडौं । वैदेशिक रोजगारी विभागले १४ म्यानपावर कम्पनी निलम्बन गरेको छ । सोमबार प्रेस विज्ञप्ती जारी गर्दै विभागले शंकास्पद प्रमाणपत्र पेश गरि जापान पठाएका कम्पनीलाई निलम्बन गरेको हो ।
वैदेशिक रोजगारीका लागि इजाजतपत्र प्राप्त संस्थाहरुले जापानी भाषा तथा संस्कृति सम्बन्धी तालिमको शंकास्पद प्रमाणपत्र पेश गरि श्रम स्वीकृती लिइ नेपाली कामदारहरुलाई जापान पठाएको भनी विभागमा उजुरी परेको थियो । विभागले अनुसन्धान गर्दा ती कम्पनीको संलग्नता देखिएका कारण निलम्बन गरिएको विज्ञप्तीमा जनाइएको छ ।
शंकास्पद प्रमाणपत्र पेश गरि जापान पठाउने कार्यमा गुड लाइफ इन्टरनेशनल इम्प्लोइमेन्ट एजेन्सी प्राली, सत्यवति ओभसिज, डिएन इन्टरनेशनल नेपाल ओभरसिज इम्प्लोइमेन्ट एजेन्सी प्रालि, रोयल ओभरसिज नेपाल प्राली र जब्स ग्लोबल डटकम इम्प्लोइमेन्ट सर्भिस प्राली संलग्न रहेको पाइएको छ ।
त्यस्तै, लायन्स इन्टरनेशनल नेपाल प्राली, भण्डारी ओभरसिज प्राली, वल्ड फेभर ओभरसिज प्राली, नाप इन्टरनेशनल प्राली, मञ्जुश्री ओभरसिज सर्भिस प्राली, एएनएस एसोसिएट्स प्राली, क्यापिटल इन्टरनेशनल मेनपावर प्राली, ग्राण्ड सुइट जब प्राली र ओक्सन इन्टरनेशनल प्राली समेत यस कार्यमा संलग्न रहेको पाइएको विभागले जनाएको छ ।




