काठमाडौं । सवारी अनुशासन उल्लंघन र तीव्र गति सवारी दुर्घटनाको मुख्य कारण रहेको ट्राफिक प्रहरीको निष्कर्ष छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गरेको सवारी दुर्घटनाको विश्लेषणमा अधिकांश दुर्घटना तीव्र गति, ट्राफिक संकेत वा इशाराको उल्लंघन रहेको पाइएको हो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले त्यसका अलावा मादक पदार्थ तथा लागूपदार्थ सेवन गरी सवारी साधन चलाउनेजस्ता चालकको लापरबाही पनि देखिएको छ । ‘तीव्र गति, जीवन क्षति’ भन्ने नारा नै रहेको छ । अहिले अवस्था पनि त्यस्तै भइरहेको छ ।
यस्तै सडक र सवारी साधनको खराब अवस्था, सवारीको यान्त्रिक गडबडी र सडक प्रयोगकर्तामा ट्राफिक नियमको पर्याप्त ज्ञानको अभावमा पनि दुर्घटना बढिरहेको उनले बताए । ’तर मुख्य कारण भनेको तीव्र गति र सडक नियम उल्लंघन नै रहेको छ,’ उनले भने ।
यसमा मुख्य गरी जनचेतना जगाउनुपर्ने आवश्यकता औंल्याइएको छ । त्यसैले अहिले उपत्यकामा ट्राफिक सप्ताहमार्फत् सचेतना अभियान थालिएको उनले बताए । यो क्रमलाई सप्ताहका रुपमा मात्रै सीमित नगरी नियमित गरिने उनले जानकारी दिए । पछिल्लो पाँच वर्षमा देशभर झन्डै १३ हजार मानिसको सवारी साधन दुर्घटबाट मृत्यु भएको छ । हजारौं घाइते भएका छन् ।
गत एक वर्षमा मात्रै देशमा झन्डै ३ हजारले दुर्घटनाबाट ज्यान गुमाएका छन् । सवारी साधनको संख्यामा आएको वृद्धिसँगै दुर्घटना पनि बढिरहेको प्रहरीको दाबी छ । त्यसैले चालक, परिचालक, पैदलयात्री, विद्यार्थी र समग्रमा सडक प्रयोगकर्ता लक्षित ट्राफिक सचेतनालाई अभियानका रुपमा अघि बढाउनुपर्ने प्रहरीको निष्कर्ष छ । यसमा स्थानीय तहको भूमिका महत्त्वपूर्ण हुने बताइएको छ ।



