काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षणले आइतबार ३३ फर्ममाथि अनुगमन गरेको छ । आइतबार बजार अनुगमनको क्रममा विभागले किराना पसल, खाद्य वस्तु पसल, रेडिमेड तथा थान कपडा पसल, जुत्ता चप्पल र अन्य पसललाई कारबाही गरेको हो ।
जसमा उनीहरुले खरिद बिजविजक नराख्ने र गुणस्तर, परिमाण, मुल्य, नापतौलमा हेरफेर गर्नेलाई विभागले कारबाही गरेको हो । जसमा ११ वटा पसलेलाई नगद जरिवाना गरिएको छ ।
विभागले काठमाडौंमा रहेको विविध पसललाई १ लाख रुपैयाँ जरिवाना गरेको छ भने ललितपुरमा रहेका खाद्य बस्तु पसल र कोटेश्वरमा रहेको अन्य पसललाई ५०/५० हजार रुपैयाँ जरिवाना गरेको छ ।
त्यस्तै, विभागले काठमाडौंमा रहेको जुत्ता चप्पल पसल र सानेपा खाद्य वस्तु पसललाई २०/२० हजार रुपैयाका दरले जरिवाना गरेको छ । बाँकी रहेको ६ पसललाई ५ हजार देखि १० हजार रुपैयाँ जरिवाना गरेको छ ।
विभागले धुम्बाराहीमा रहेको मदिरा एवम सूर्तिजन्य पसलको म्याद उपभोग्य सकिएको विभिन्न ब्राण्डका वियरहरु नष्ट गरिएको छ भने नियमित अनुगमनका क्रममा विभागले विभिन्न पसललाई कागजातसहित विभागमा उपस्थित हुन भनेको छ भने कतिपयलाई सामान्य निर्देशन दिएको छ । मुख्य चाडपर्व सुरु भएसँगै विभागले बजार अनुगमनलाई तीव्र बनाएको छ ।



