काठमाडौं । पेयपदार्थमा अखाद्य वस्तु भेटिएपछि काठमाडौं महानगरपालिकाले वडा ३२ स्थित पेप्सीकोलामा रहेको वरुण वेभरेजलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ ।
काठमाडौं महानगरपालिकाले आज गरेको बजार अनुगमनका क्रममा ढुसी परेको पेयपदार्थ (स्लाइस) फेला परेपछि उक्त उत्पादक कम्पनीलाई कारबाही स्वरुप २ लाख रुपैयाँ जरिवाना गरिएको काठमाडौं महानगरपालिका कृषि तथा पशुपन्छी विभागका प्रमुख डा अवधेश झाले जानकारी दिए ।
प्रमुख झाका अनुसार अनुगमनको क्रममा दोषी ठहर र सञ्चालकसँग कुरा गर्दा स्पष्ट जवाफ नदिएपछि बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७ को दफा ९ अनुसार कारबाही गरिएको हो । उक्त जरिनावा रकम आगामी एक साताभित्र बैंक खातामा जम्मा गर्न कामपाले आग्रह गरेको छ । तोकिएको समय सीमाभित्र जरिवाना रकम नबुझाए सोही ऐनको दफा ३० को उपदफा ३ बमोजिम थप कारबाही हुने कामपाले स्पष्ट पारेको छ ।
अनुगमन टोलीले उक्त कम्पनीलाई बजारमा लगिएका सामग्री फिर्ता लैजाने व्यवस्था गर्न, ब्याकिङपछि रसायनिक, भौतिक दुवैतर्फ गुणस्तर कायम गर्न, एकपटक बजार लगिएका सामग्री पुनःउत्पादन भए पुनःपरीक्षण गरी निर्देशन दिएको छ ।
चालु आर्थिक वर्षमा कामपाले स्वास्थ्य क्षेत्रका लागि ९२ करोड ६६ लाख ४४ हजार रुपैयँ रकम विनियोजन गरेको छ । जसमा व्यक्तिगत तथा संस्थागत भान्साघर स्वस्थ्यकर बनाइ राख्नका लागि ३ करोड ५० लाख रुपैयाँ रहेका छ ।
बजारलाई थप व्यवस्थित गर्न कामपाले गत साउन महिनाभित्र अनुगमनका सूचक तयार गरी भदौ १ गतेदेखि नियमित अनुगमन गर्दै आएको छ । विगतमा वर्षहरूमा कामपाले चाडवाड आउनै लाग्दा मात्रै अनुगमनको काम गर्ने गरेको थियो । मौसमी रूपमा गरिएको अनुगमनको कामले प्रभावकारी नभएको र त्यसले उपभोक्तालाई राहत नमिलेको भन्दै अहिले कामपाले चाडवाड सुरु हुनु केही महिना अघिदेखि नै अनुगमनको कामलाई निरन्तरता दिइरहेको छ ।
उपप्रमुखको संयोजकत्वमा रहेको बजेट तथा कार्यक्रम तर्जुमा समितिले पेस गरेर नगरसभाबाट पारित भएका कार्यक्रमको अनुगमन उपप्रमुखकै संयोजकत्वमा रहेको अनुगमन तथा सुपरीवेक्षण समितिले गर्ने व्यवस्था रहेको छ ।



