images
images

वाणिज्य विभागले गर्‍यो ९८ प्रतिशत व्यावसायिक फार्मलाई कारवाही, ९२ लाख जरिवाना


  • 806
    SHARES
  • २०८० आश्विन १४ गते आइतबार

    वाणिज्य विभागले गर्‍यो ९८ प्रतिशत व्यावसायिक फार्मलाई कारवाही, ९२ लाख जरिवाना

    काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गर्ने बजार अनुगमनका क्रममा करिब ९८ प्रतिशत व्यावसायिक फार्ममा कुनै न कुनै किसिमको कैफियत तथा समस्या भेटिएको छ । गत साउनयता विभागले एक हजार एक सय ४६ व्यावसायिक फर्ममा अनुगमन गरेकामा २६ वटा मात्रै सामान्य अवस्थामा रहेका भेटिएको जनाएको छ ।
         
    चालु आर्थिक वर्ष सुरु भएदेखि असोज १२ गतेसम्ममा एक हजार एक सय ४६ व्यावसायिक फार्ममा अनुगमन गरी तीन सय ४७ लाई कारबाही गरिएको विभागका सूचना अधिकारी आनन्दराज पोखरेलले जानकारी दिए । उनका अनुसार कारबाही गरिएका फार्मलाई ९२ लाख २५ हजार रुपैयाँ मूल्य बराबर जरिवाना गरिएको छ । त्यसैगरी, ३४ फार्मबाट एक करोड एक लाख ९० हजार रुपैयाँ मूल्य बराबरको वस्तु नष्ट गरिएको विभागले जनाएको छ । 

    तीन सय ३२ फार्मलाई सुधारका लागि निर्देशन दिइएको र थप अध्ययनका लागि कागजात माग भएको पनि पोखरेलले जानकारी दिए । उनका अनुसार विभागले दैनिक उपभोग्य वस्तु, तरकारी तथा फलफूल, मासुपसल, औषधि, मिठाइ पसल तथा होटललगायत क्षेत्रमा अनुगमन गर्दा तोकिएकोभन्दा चर्को मूल्यमा बिक्री वितरण भइरहेको, न्यून गुणस्तर, लेभल नभएका वस्तु बिक्री गरेको, कृत्रिम अभाव सिर्जना गरेकोलगायतका समस्या देखिएका हुन् ।
         
    अहिले विभागले दैनिक औसत ३५ व्यावसायिक फार्ममा अनुगमन गरिरहेको छ । दशैं, तिहारलगायत चाडबाडका बेला उपभोक्ता बढी ठगिने र बजारमा बढी समस्या देखिने भएकाले अनुगमनको सङ्ख्या बढाउन लागिएको विभागले जनाएको छ ।
         
    चाडपर्वलाई लक्षित अनुगमनका लागि वाणिज्य विभागको नेतृत्वमा वातावरण, खाद्यप्रविधि तथा गुण नियन्त्रण, गुणस्तर तथा नापतौल, औषधि व्यवस्था र आन्तरिक राजस्व विभाग तथा जिल्ला प्रशासन कार्यालयसँग समन्वयमा गरिरहेको पोखरेलले बताए । उनका अनुसार विभागले एक्लै र संयुक्तरुपमा बजार अनुगमन गर्दै आएको छ ।
         
    त्यस्तै, चाडपर्व लक्षित अनुगमनतर्फ आगामी हप्ताबाट थोक बिक्रेता, गोदाम र अधिक  मूल्यवृद्धि भएका वस्तुको अनुगमनलाई तीव्र बनाउने विभागले जनाएको छ । अवाञ्छित मूल्यवृद्धि, न्यून गुणस्तर तथा कृत्रिम मौज्दातजस्ता सूचना भए पैसा नलाग्ने टेलिफोन नम्बर ११३७ मार्फत जानकारी दिन पनि विभागले अपिल गरेको छ ।


    images
    images

    Logo