images
images

अर्थव्यवस्था विस्तारै लयमा फर्किन थालेको छ : अर्थमन्त्री महत


  • 442
    SHARES
  • २०८० आश्विन १३ गते शनिबार

    अर्थव्यवस्था विस्तारै लयमा फर्किन थालेको छ : अर्थमन्त्री महत

    जनकपुरधाम । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थव्यवस्था विस्तारै लयमा फर्किन थालेको बताएका छन्। जनकपुरधाम उद्योग वाणिज्य सङ्घको ५६औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री महतले बिभिन्न कारणले अर्थतन्त्रमा देखिएका समस्याहरू समाधान हुँदै गएको र अर्थव्यवस्था लयमा फर्किन थालेको बताएका हुन्।

    अर्थमन्त्री डा.महतले बैंकहरूले व्याज दर घटाएको, रेमिट्यान्स वृद्धि भएको र पर्यटक आगमनमा वृद्धि हुँदै गएको बताए। उनले विनयोजित बजेट समयमा खर्च भएमा अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने बताए। उनले अर्थतन्त्रमा सुधार देखिएसँगै लगानी गर्ने बतावरणको निर्माण भएको बताए। उनले सरकारमाथि आन्तरिक र बाहय लिएको क्रणको सावाँ व्याज तिर्ने दायित्व बढेको उनले बताए।
     
    “भूकम्प, कोरोना महामारी, अन्तर्राष्ट्रियरूपमा भइरहेको आर्थिक र द्वन्द्वको असर नेपालले पनि भोग्यो । अर्थतन्त्रमा दबाब अवश्य थियो तर पछिल्लो समय त्यसमा सुधार हुँदैछ । विप्रेषण प्रवाह, पर्यटकीय गतिविधिमा बढोत्तरी, बजेट अनुशासन कायम गरेर अगाडि बढ्ने सरकारको नीतिका कारण विस्तारै सुधार हुँदैछ”, अर्थमन्त्री डा महतले भने, “त्यसैले म विश्वासका साथ भन्छु नेपाली अर्थतन्त्र सुधारोन्मुख छ । आर्थिक क्रियाकलाप बढाउन सरकारको मौद्रिक नीति र बजेट अनुशासनले पनि काम गरिरहेको छ । त्यसबाट परिणाम आउन केही समय लागे पनि निराशाको अवस्थालाई आशामा बदल्न सरकार प्रयत्नशील छ । तपाईँ व्यापारी साथीहरू पनि आत्मविश्वासका साथ काम गर्नुस् ।”

    उनले देशमा आर्थिक क्रियाकलापमा बढोत्तरी नहुँदा राजस्व सङ्कलनमा समेत असर परेकाले विकासका पूर्वाधारमा पर्याप्त लगानी गर्न कठिनाइ भइरहेको बताए । “नेपालले सामाजिक सुरक्षामा गरेको प्रतिबद्धता, कर्मचारीको तलब तथा चालु खर्चजस्ता अन्य दायित्व पूरा गर्दै जाँदा पुँजीगत दायित्व वा विकासमा पर्याप्त लगानी गर्न सकिरहेको छैन ।  राजस्व वा आम्दानी बढ्न नसकेकाले यस्तो समस्या भएको हो । अब सबै पक्षले सकारात्मक पहल गरेमा यो अवस्थालाई सुधार्न सकिन्छ । त्यसका लागि म सबै सरोकारवालाको ध्यानाकर्षण गराउन चाहन्छु”, उनको भनाइ थियो ।
     
    मधेस प्रदेशमा कृषि, पर्यटन र उद्योगको विकासमार्फत समृद्धि हासिल गर्ने लक्ष्यसहित सरकारले सुनकोसी मरिन कमला डाइभर्सनको काम द्रुतगतिमा अगाडि बढाएको र पूर्व–पश्चिम नहर प्रणालीको विकासका लागि उचित ध्यान दिने भन्दै अर्थमन्त्री डा महतले जलेश्वलाई अन्तर्राष्ट्रिय नाका बनाउन र जटहीलगायतका नाकाको स्तरोन्नति गर्न सरकारले पहल सुरु गरिसकेको पनि जानकारी दिए । प्रदेशको राजधानी जनकपुर क्षेत्रलाई औद्योगिक हबका रूपमा विकास गर्न पनि सरकारले आवश्यक सहयोग गर्ने उहाँले प्रतिबद्धता व्यक्त गरे ।
     
    कार्यक्रममा प्रतिनिधिसभा सांसद एवं नेकपा (एमाले) नेतृ जुलीकुमारी महतोले राज्यले उपेक्षा गरेका कारण मधेस प्रदेशमा विकासले गति लिन नसकेको भन्दै सरकारले अब यहाँका सम्भावनाको सदुपयोग गर्न ठोस नीति तथा योजना बनाउन सक्नुपर्ने धारणा राखेका थिए । 

    नेपाली कांग्रेसका नेता एवं मधेस प्रदेशसभा सदस्य रामसरोज यादवले सङ्घीयताको मर्मअनुसार विकास निर्माणदेखि अन्य कानुनी जटलिता फुकाउन सङ्घीय सरकारले पहलकदमी लिनुपर्ने बताए । 

    त्यसैगरी नेकपा (एमाले) प्रदेशसभा संसदीय दलका उपनेता दीपेन्द्र ठाकुरले जनकपुरको विकासका लागि गुठीको जग्गा व्यवस्थापन र मधेसको विकासका लागि कृषि सिँचाइलाई लक्षित गरी पूर्व–पश्चिम नहर प्रणालीको विकासमा सरकारले लगानी गर्नुपर्ने बताए।

    त्यसैगरी जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साह, पूर्वप्रमुख बजरङ्गप्रसाद साह, जनकपुर उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष निर्मलकुमार चौधरी, वर्तमान अध्यक्ष जितेन्द्रकुमार महासेठलगायतले जनकपुरधाम र मधेसको विकासका पूर्वाधार विकासमा लगानी र लगानीको वातावरण निर्माण गर्न उद्योगीका समस्या समाधानमा ध्यान दिन सरकारलाई आग्रह गरे । 

    उनहरुले महोत्तरीको जलेश्वर भिठ्ठामोड नाकालाई अन्तर्राष्ट्रिय भन्सार नाकाका रूपमा विकास र धनुषाको जटही नाकाको स्तरोन्नति, बैंकबाट सहजरूपमा ऋण लिने अवस्था र सस्तो ब्याजदर, गुठीको जग्गा व्यवस्थापन र जनसङ्ख्याको आधारमा बजेटको न्यायोचित बाँडफाँटमा ध्यान दिन अर्थमन्त्रीको ध्यानाकर्षण गराए ।


    images
    images

    Logo