भक्तपुर । विश्व मुटु दिवसका अवसरमा भक्तपुरको थिमिमा सम्पदा पदयात्राको आयोजना गरिएको छ । मुटुको प्रयोग गर्नुहोस्, मुटुका बारेमा थाहा पाउनुहोस्’ भन्ने मुल नाराका साथ शनिवार तीन घण्टा लामो सम्पदा पदयात्रा हेरिटेज वाक–२०२३ आयोजना गरिएको हो ।
बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री पुकार महर्जनको प्रमुख आतिथ्यतामा शङ्खधर चोकमा रहेको शङ्खधर साख्वाको सालिकमा माल्यार्पण गरी शुरु भएको सम्पदा यात्रामा करिव तीन सय ५० जनाको सहभागिता रहेको थियो । र्थतन्त्रको मेरुदण्ड बलियो बनाउने पर्यटन क्षेत्रको विकास गर्नुपर्नेमा जोडदिदै मन्त्री महर्जनले मध्यपुरका ऐतिहासिक एवं पुरातात्विक सम्पदा अवलोकनका लागि पर्यटकको सङ्ख्या बढाउने वातावरण बनाउनुपर्नेमा जोड दिए ।
लायन्स क्लब अफ भक्तपुर बालकोट, लायन्स क्लब अफ भक्तपुर मेरिगोल्ड, लायन्स क्लब अफ भक्तपुर चाँगुनारायण, लायन्स क्लब अफ भक्तपुर प्रिन्सिपल र लायन्स क्लब अफ भक्तपुर नीलकण्ठेश्वरले संयुक्त रुपमा मानव मुटु बचाउने सन्देश प्रवाह गर्ने मुख्य उद्देश्यसहित सम्पदा पदयात्रा आयोजना गरेक हुन् ।

लायन्स इन्टरनेसनल डिस्ट्रक ३२५ एच एमडी ३२५ चिफ चार्टर प्रेसिडेन्ट एमजेएफको संयोजक एवं कार्यक्रम संयोजक उद्धव सिलवालका अनुसार, सम्पदा पदयात्रा शङ्खधर चोकबाट सुरु भइ बालकुमारी, दुई पोखरी, भुलाँखेल, पाटी विहार, सिद्धिकाली, सिद्धिगणेश मन्दिर, नगदेश, बुद्धविहार नगदेश, नीलकण्ठेश्वर, टिगनी, नीलबाराही, बोडे, कमलपोखरी हुँदै बोडेको कुमारी मन्दिर परिसरमा पुगेको थियो । सोहि अवसरमा विविध सांस्कृतिक कार्यक्रमको आयोजना समेत गरिएको संयोजक सिलवालले बताए ।
आयोजक समितिको प्रकाशन तथा प्रचारप्रसार उपसमितिका संयोजक तीर्थराज भट्टका अनुसार, पदयात्राका क्रममा सम्पदा अवलोकनसँगै सम्बन्धित सम्पदाविद्बाट यात्रामा सहभागीलाई प्रत्येक सम्पदास्थलमै सम्पदाको महत्वका बारेमा जानकारी गराइएको थियो ।
कार्यक्रममा सांस्कृतिक झाँकी, नृत्य प्रस्तुत गरिएको र मुटु रोगबाट बच्ने एवं बचाउनेबारे जनचेताना प्रवाह गरिएको थियो । लायन्स क्लबका डिस्ट्रिक्ट गभर्नर लायन शम्भु थापाले १५ जिल्लामा ४८ हजार लायन्सका सदस्य रहेको र नेपालका लायनहरुकै सहयोगबाट सङ्कलित रकम समाजसेवामा खर्च भइरहेको जानकारी दिए । लायन्स क्लबमार्फत आएको सहयोगमै काठमाडौँको मिनभवनमा लायन्स आँखा अस्पताल सञ्चालन बताउँदै थापाले यसै साताबाट कीर्तिपुरमा अत्याधुनिक प्रविधि जडित ब्लड बैंक सञ्चालनमा ल्याउन लागेको बताए ।
समाजमा मुटु रोगी बढेको र किशोर तथा युवा वर्गमा पनि हृदयघातका बिरामी अत्यधिक बढेकाले मुटु रोगबारे सचेतना दिन र मध्यपुरथिमिको सम्पदालाई उजागर गरी स्वदेशी र विदेशी पर्यटक बढाउँन यसप्रकारको सम्पदा पदयात्रा गरिएको संयोजक सिलवालको भनाई छ ।
दयात्रामा मन्त्री महर्जनसँगै बागमती प्रदेशसभा सदस्यद्वय सकुन्तला श्रेष्ठ, धनेश्वरी श्रेष्ठ, प्रदेशसभाका पूर्वराज्यमन्त्री रजनी जोन्छे, मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, पूर्व नगर प्रमुख मदनकृष्ण श्रेष्ठलगायतका जनप्रतिनिधि, विद्यार्थी, लायन्स क्लबका पदाधिकारी एवं लायनहरुको सहभागिता थियो ।



