काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलाली जिल्लाको घोडाघोडी नगरपालिका–२, साडेपानीस्थित दशरथ माध्यमिक विद्यालयमा राहत शिक्षकमा महेश शाहविरुद्ध मुद्दा दायर गरेको छ ।
शिक्षक शाहले प्रवीणता प्रमाणपत्र तहको नक्कली सर्टिफिकेट पेस गरी अध्यापन गरेकाले उनीविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।
शाहले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, बोर्ड अफ हाईस्कुल एण्ड इण्टरमिडिएट एजुकेशन, उत्तर प्रदेश, राजकीय हुसेनावाद इण्टर कलेज भारतबाट प्राप्त गरेको भनिएको उक्त शैक्षिक योग्यताको प्रमाणपत्र झुट्टा भएको प्रमाणित हुन आएको आयोगले जनाएको छ ।
शाहले झुट्टा शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षकको हैसियतमा लाभ लिई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा १ बमोजिम कसुर गरेको पुष्टि भएको छ भने सोही आधारमा शिक्षक शाहविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा १ बमोजिम शुक्रबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।



