images
images

सगरमाथाको ८ हजार मिटर उचाइबाट प्याराग्लाइडिङ गरिने


  • 505
    SHARES
  • २०८० आश्विन ११ गते बिहीबार

    सगरमाथाको ८ हजार मिटर उचाइबाट प्याराग्लाइडिङ गरिने

    काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा (आठ हजार आठ सय ४८.८६  मिटर) बाट प्याराग्लाइडिङ गरिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले सगरमाथाको आठ हजार मिटर माथिबाट प्याराग्लाइडिङ गरिने बताएका हुन् ।
         
    विश्व पर्यटन दिवसका अवसरमा ‘साथसाथै’ ले आयोजना गरेको पर्यटनसम्बन्धी राष्ट्रिय सम्मेलनका क्रममा गरिएको अन्तक्र्रिया कार्यक्रममा पर्यटनमन्त्री किरातीले पर्यटक आकर्षण गर्नका लागि सगरमाथाको ८ हजार मिटर माथिबाट प्याराग्लाइडिङ गराइने बताए।

     उनले भने, “हामीले पर्यटन प्रवर्द्धन गर्नुपर्छ भन्छौँ तर, यसका लागि कस्तो नीति बनाएका छौँ भन्ने कुरातिर ध्यान दिन सकेका छैनौँ । त्यसकारण हामीले पर्यटन आकर्षण गर्नका लागि विभिन्न योजना बनाइरहेका छौँ । जसअन्तर्गत सगरमाथाको आठ हजार मिटरमाथिको उचाइबाट डबल दस्तुर लिएर प्याराग्लाइडिङ गराउनका लागि नियमावली अन्तिम चरणमा छ । अब क्याबिनेटबाट पारित हुनेबित्तिकै लागू हुन्छ ।”
         
    पर्यटनमन्त्री किरातीले नेपालको ऐन कानून र भएका पूर्वाधारको सदुपयोग र नयाँ पूर्वाधारको निर्माणलगायतका कुराहरूले चुनौती सिर्जना गरेको बताए । उनले भने “सरकार जादुको छडी त होइन, तर, हामीले नेपालको पर्यटन क्षेत्रलाई थप सशक्त बनाउनुपर्छ । लयबद्धरूपमा काम गर्दै जाने हो, उसमा सोच र सही दृष्टिकोण छ कि छैन भन्ने कुरा महत्त्वपूर्ण हुन्छ ।”
     
    सरकार बदलिरहने प्रवृत्तिले गर्दा दीर्घकालीन योजनाका काम नहुँदा समस्या भएको उनले बताए । उनले अहिले ढिलो भए पनि आत्तिहाल्नुपर्ने स्थिति भने नभएको बताए।
         
    राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सुन्दर मुलुकलाई पर्यटन प्रवर्द्धकका रूपमा लिन सक्यौँ भने ठूलो योेगदान गर्न सकिने बताए । उनले छिमेकी मुलुक भारत र चीनबाट मात्रै पर्यटक ल्याउन सकिए पर्यटन विकासलाई सार्थक बनाउन सकिने धारणा राखे ।

    नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले ‘मुलुकको समृद्धिका लागि पर्यटन : हिमाल, पर्यटन, जलवायु परिवर्तन र महिला’ शीर्षकको कार्यपत्र प्रस्तुत गर्दै जलवायु परिवर्तनका कारण हिमालमा जोखिम बढेकाले समयमै पूर्वतयारी र पूर्वाधार विकासमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याए ।
         
    उनले जोखिमको अवस्थामा रहेका हिमतालको पानी निकास गरेर जलविद्युत् उत्पादन गरी जोखिम कम गर्न सकिने बताए । 

    अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का पर्यटन विशेषज्ञ डा अनुकुमारी लामाले ‘हिन्दूकुश हिमालय क्षेत्रमा पर्यटन : यस क्षेत्रको समृद्धिका लागि विशिष्ट अवसर’ शीर्षकमा कार्यपत्र प्रस्तुत गर्दै पर्यटन क्षेत्रबाट समृद्धि लागि रणनीतिक योजनाहरू आवश्यक भएको बताए ।
         
    साथसाथैका अध्यक्ष प्रजिता कार्कीले जलवायु परिवर्तनको सबैभन्दा विनाशकारी असर पर्यटन व्यवसायमा परेको बताए । उनले भने, “एकातिर पर्यटन क्षेत्रमा निकै पूर्वाधार निर्माण गर्नुछ भने अर्कोतिर भएका पूर्वाधार जोगाउने चुनौती छ । साथै अबका पूर्वाधार जलवायु परिवर्तनमैत्री बनाउनु छ ।”


    images
    images

    Logo