दोलखा । चीनसँग सिमाना जोडिएको दोलखाको लामाबगर क्षेत्रबाट प्रहरीले बुधबार राति ४ किलो सुनसहित ३ जनालाई पक्राउ गरेको छ । दोलखाको विगु गाउँपालिका–३ जामुनेआसपास नजिकैबाट प्रहरीले अवैध रुपमा भित्रिएको चार किलो सुन बरामद गरेको हो ।
बुधबार राति करिब १० बजेतिर इलाका प्रहरी कार्यालय सिंगटीले चार किलो सुनसहित ३ जनालाई नियन्त्रणमा लिएको दोलखाका प्रहरी नायब उपरीक्षक दीपक खड्काले जानकारी दिए । उनकाअनुसार ठूलो परिमाणमा पैदलमार्गबाट सुन भित्रिएको सूचनाका आधारमा प्रहरीले उक्त क्षेत्रमा निगरानी बढाएको थियो । चार वटा बिस्कुट आकारको सुनसहित ३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
दोलखाको सीमानामा चीनको तिब्बती नाका खुलेको एक साता नबित्दै अवैध सुन बरामद भएको हो । प्रहरीले आज पत्रकार सम्मेलन गरी यस विषयमा थप जानकारी गराउने तयारी गरेको छ ।



