भक्तपुर । नगरपालिकाले सञ्चालन गरेका अस्पताल मध्ये मुलुकभरकै नमुना नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा सिटी स्क्यान सेवा शुरु भएको छ । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले सञ्चालन गरेको अस्पतालमा सिटी मंगलवारबाट सो सेवा शुरु भएको हो ।
अस्पतालमा सिटी स्क्यान सञ्चालन भएसँगै बिरामीहरुले थप गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न थालेको नगरप्रमुख सुरेन्द्र श्रेष्ठ बताउँछन् । गत १५ बैशाखमा अस्पताल स्थापनाको पन्ध्रौँ वार्सिकोत्सवका अवसरमा प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले अस्पतालको नवनिर्मित रेडियोलोजी भवन र सिटि स्क्यान सेवाको उद्घाटन गरेका थिए ।
त्यतिबेला सिटी स्क्यान मेसिन जडान भएपनि लामो समयसम्म प्राविधिक कारणले सञ्चालन हुन सकेको थिएन । पछिल्लो समय भारबाट आएका प्राबिधिकले सिटी स्क्यान मेसिन सञ्चालनमा ल्याएको बताउँदै अस्पतालका कार्यकारी निर्देशक डा. डि.के रौशनले मंगलवार केही परिक्षण गरी बुधवारबाट सिटी स्क्यान सेवा नियमित सञ्चालनमा ल्याइएको बताए ।



