काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का पदाधिकारी र गभर्नर महाप्रसाद अधिकारीबीच भेटघाट भएको छ । सोमबार सिबिफिनका पदाधिकारी र गभर्नर अधिकारीबीच गभर्नरको कार्यकक्ष बालुवाटारमा भेट वार्ता भएको हो ।
अध्यक्ष पवन कुमार गोल्यानको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले आर्थिक क्रियाकलापहरु अपेक्षित रुपमा फस्टाउन नसक्नुको कारण, समस्या र समाधानका संभावित उपायहरुका विषयमा गभर्नर अधिकारीसँग छलफल गरेको थियो । उनले साउन महिनाको वस्तुस्थितिले बाह्य स्थितिमा उल्लेखनिय सुधार भएको भएतापनि आन्तरिक उत्पादन, उत्पादनमूलक क्षेत्रमा लगानीको अवस्था, पूँजीगत खर्च, आयात, रोजगारी, मुद्रास्फिति जस्ता क्षेत्रहरुमा अपेक्षित सुधार नदेखिनुले अर्थतन्त्र अझै पनि जोखिमपूर्ण रहेकोप्रति गभर्नरको ध्यानाकर्षण गराएका थिए ।
गोल्यानले संस्थापक शेयर सर्वसाधारण शेयरमा रुपान्तरण गर्न पाउने व्यवस्था, चालू पूँजी कर्जामा सुधार, उत्पादनमूलक र अन्य क्षेत्रमा दोहोरो ब्याजदरको व्यवस्था, बैंक तथा वित्तीय संस्थाको बढ्दो संचालन खर्च र साँघुरिदो लाभांशलगायतका विषयमा गभर्नरसमक्ष लिखित सुझाव पत्र समेत पेश गरेका थिए ।
उक्त छलफलमा नेपाल राष्ट्र बैंकका डेप्यूटी गभर्नरद्वय डा. निलम ढुंगाना तिम्सिना, बम बहादुर मिश्र, कार्यकारी निर्देशक गुणाकर भट्ट, निर्देशक मुक्ति सापकोटा र सिबिफिनकोतर्फबाट वरिष्ठ उपाध्यक्ष भोजबहादुर शाह, सचिव कुश प्रसाद मल्ली, कार्यकारी सदस्यहरु उपेन्द्र प्रसाद पौडेल, लिला प्रकाश सिटौला मोतीलाल दुगड, दिनेशराज जोशीलगायतको सहभागिता रहेको थियो ।



