images
images

असोज २१ देखि दशैं सहुलियत पसल खुलाउने, कहाँ कहाँ खुल्छन् ?


  • 1.4K
    SHARES
  • २०८० आश्विन ९ गते मंगलबार

    असोज २१ देखि दशैं सहुलियत पसल खुलाउने, कहाँ कहाँ खुल्छन् ?

    काठमाडौं । सरकारले दशैं, तिहार र छठ पर्व लक्षित सहुलियतपूर्ण पसल २१ असोजदेखि सञ्चालनमा ल्याउने भएको छ । मंगलबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बसेको बैठकले सहुलियतपूर्ण पसल सञ्चालन गर्ने निर्णय गरेको हो ।

    ‘दशैं, तिहार र छठ पर्वका लागि २१ असोजदेखि सहुलियतपूर्ण पसल सञ्चालन गर्ने निर्णय भएको छ,’ मन्त्रालयका सहसचिव एवम् प्रवक्ता गजेन्द्र ठाकुरले भने, ‘सहुलियतपूर्ण पसलमा उपभोक्ताले ५० रुपैयाँसम्म छुट पाउने छन् । ’

    सहुलियत पसलमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ, दुग्ध विकास संस्थान लगायतले खाद्यान्न, तेल, दाल, गेडागुडी सहुलियतपूर्ण मूल्यमा उपलब्ध गराउने मन्त्रालयले जनाएको छ ।

    कहाँ कहाँ खुल्छन् सुपथ मूल्य पसल ?

    काठमाडौं उपत्यकामा थापाथली, रामशाहपथ ललितपुरको नख्खु, भक्तपुरको सूर्यविनायक गरी ४ स्थानमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सुपथ मूल्य पसल सञ्चालन गर्नेछ । यहाँ चामल, दाल, गहुँ, आटा, पिठो, मैदा, तोरीको तेल, सनफ्लावर तेल, भट्मासको तेल र चिउरा प्रतिकिलो ७ रुपैयाँसम्म छुट पाइनेछ । त्यस्तै कर्णालीको सिमी गेडागुडीहरु, फापरको दाना, चिनो, कागुनो प्रतिकिलो १० रुपैयाँ छुटमा पाइनेछ ।

    दुग्ध विकास संस्थानका एकीकृत पसल लगायत लैनचौर, न्यूरोड र खुमलटारमा दुग्धजन्य पदार्थ छुटमा बिक्री हुनेछ । साल्ट ट्रेडिङ कर्पोरेसनले काठमाडौंका ८ वटा केन्द्रमार्फत सुपथ मूल्यमा नुन, तेल, चिनी, चिउरा वितरण गर्नेछ । साथै कर्पोरेसनले घुम्ती पसलमार्फत पनि घरघरमा उपभोग्य वस्तु पुर्‍याउने जनाएको छ ।

    उपत्यकाबाहिर मोरङ, झापा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दिक्तेल, भोजपुर, ओखलढुंङ्गा, खोटाङ, सिराह, जनकपुर, पर्सा, कास्की, तनहुँ, गोरखा, मनाङ, मुस्ताङ, रुपन्देही, बाँके, दाङ, बर्दिया, रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, सुर्खेत, गुल्मी, दैलेख, डोल्पा, कालीकोट, हुम्ला, जाजरकोट, जुम्ला, मुगु, कैलाली, डडेलधुरा, बाजुरा, बझाङ, अछाम, दार्चुला, महेन्द्रनगर गरी ४२ जिल्लाका ४८ स्थानमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सहुलियत पसल सञ्चालन गर्नेछ । यसको साथै निस्शुल्क अनलाइन होम डेलिभरी, घुम्ती सेवा, सहकारी र डिलरको माध्यमबाट तोकिएबमोजिम विक्री वितरण गरिने कम्पनीले जनाएको छ ।

    दुग्ध विकास संस्थानले विराटनगर, जनकपुर, ढल्केवर, हेटौंडा, कोहलपुर, नेपालगन्ज, अत्तरिया, धनगढी, बुटवल गरी ११ स्थानमा सुपथ मूल्य पसल सञ्चालन हुने र एकीकृत घुम्ती सेवा पसल पनि सञ्चालन हुने जनाएको छ ।


    images
    images

    Logo