images
images

चाडपर्व नजिकिँदा पनि बढेन आयात


  • 1.0K
    SHARES
  • २०८० आश्विन ८ गते सोमबार

    चाडपर्व नजिकिँदा पनि बढेन आयात

    भैरहवा । नेपालमा तीज सकिएको छ भने सबैभन्दा ठूलो पर्व दसैँ र तिहार नजिकै आइरहेको छ । नेपालमा पर्ने यी चाडलाई लक्षित गरी साउन र भदौ महिनामा सबैभन्दा बढी आयात हुने गरेको थियो । तर चालु आर्थिक वर्षमा गत वर्षभन्दा पनि कम राजस्व असुल भएको देखिन्छ ।

    उसो त गत वर्ष पनि यी दुई महिनामा उत्साहजनक आयात देखिएको थिएन । नेपाल सरकारले विदेशी मुद्राको सञ्चिति भन्दै धेरै वस्तुको आयातमा कडाइ गरेको थियो । त्यसले पनि आयात नियन्त्रित भएको थियो । चालु आर्थिक वर्षमा सरकारले नियम खुकुलो बनाए पनि आयात झनै घटेको देखिन्छ ।

    गत आर्थिक बर्षको साउन र भदौ महिनामा भैरहवा भन्सार कार्यालय हुँदै १० अर्ब ८४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । यसबाट भन्सार कार्यालयले ६ अर्ब ४९ करोड रुपैयाँ राजस्व असुली गरेको भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी युवराज भट्टराईले जानकारी दिए । यस्तै चालु आर्थिक बर्षको सोही अवधिमा ११ अर्ब २५ करोड रुपैयाँको वस्तुहरू आयात भएको छ । तर राजस्व भने ५ अर्ब ९९ करोड रुपैयाँ मात्र असुली भएको छ ।

    राजस्व असुलीको आधारमा हेर्दा चाड पर्व लक्षित गरी भैरहवा भन्सार कार्यालयबाट सबैभन्दा बढी मोटरसाइकल आयात हुने गरेको छ । गत वर्षको दुई महिनामा २५ हजार ८ सय ३३ वटा मोटरसाइकल आयात भएकोमा चालु आर्थिक बर्षको सोही अवधिमा १७ हजार चार सय ६३ वटा मोटरसाइकल आयात भएको छ । यस्तै गत वर्षको साउन र भदौ महिनामै ९५ करोड ८२ लाख रुपैयाँको ग्लेज टाइल आयात भएकोमा यसवर्ष सोही अवधिमा ७१ करोड ८२ लाख रुपैयाँको मात्र आयात भएको छ ।

    गत वर्ष सुरुको दुई महिनामा १ अर्ब ११ करोड रुपैयाँको पेट्रोल आयात भएको थियो । यस वर्ष दुई महिनामा रु एक अर्ब एक करोडको पेट्रोल आयात भएको छ । आर्थिक बर्ष २०७८÷७९ को सुरुको दुई महिनामा १७ करोड ८४ लाख रुपैयाँको जीप कार र भ्यान, २५ करोड ४८ लाख रुपैयाँको पिकअप तथा डेलिभरी भ्यान, एक अर्ब ७० करोड रुपैयाँको एमएस बिलेट, ७० करोड ५७ लाख रुपैयाँको मार्बल स्ल्याव, २८ करोड ७६ लाख रुपैयाँको सुपारी आयात भएको थियो । सोही अवधिमा १ अर्ब ७३ करोड रुपैयाँको एलपी ग्यास र १ अर्ब ४७ करोड रुपैयाँको मोबाइल पनि आयात भएको सूचना अधिकारी भट्टराईले जानकारी दिए।

    चालु आर्थिक बर्षको साउन र भदौ महिनामा ७१ करोड ८२ लाख रुपैयाँको ग्लेज टाइल, १ अर्ब ९६ करोड रुपैयाँको एमएस बिलेट, ४५ करोड ७१ लाख रुपैयाँको मार्बल स्ल्याब, १ अर्ब ६७ करोड रुपैयाँको मोबाइल, ७७ करोड ४९ लाख रुपैयाँको डिजल र १ अर्ब ७८ करोड रुपैयाँको पिग आइरन आयात भएको छ । चालु आर्थिक बर्षमै ५९ करोड ५७ लाख रुपैयाँ मूल्य बराबरको इलेक्ट्रिक जीप कार भ्यान आयात भएको छ ।

    थोरै बढ्यो निर्यात

    आयात गत वर्षको तुलनामा खुम्चिए पनि भैरहवा भन्सार हुँदै हुने निर्यात केही मात्रामा बढेको छ । भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी भट्टराईका अनुसार गत आवको पहिलो दुई महिनामा भैरहवा भन्सार हुँदै ८३ करोड ३२ लाख रुपैयाँ बराबरको विभिन्न वस्तु निर्यात भएकोमा चालु आर्थिक बर्षको दुई महिनामा १ अर्ब ५७ करोड रुपैयाँ बढीको निर्यात भएको छ ।

    भैरहवाबाट सबैभन्दा बढी निर्यात हुनेमा सिन्थेटिक यार्न रहेको छ । यस्तै यहाँबाट पिनाल काँच, डण्डी, जडीबुटी, वनस्पति उत्पादन, स्टिलका भाँडा, दालचिनी, अदुवा, सुठो, चोकर, भुस, सिमेन्ट, क्लिङ्करलगायत रहेका छन् ।


    images
    images

    Logo