काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले पहिलो पटक भक्तपुरस्थित तलेजु र आकाश भैरबको पूजा एवं दर्शन गरेका छन् । भक्तपुरका स्थानीय जनताको अनुरोधलाई स्वीकार्दै आज भक्तपुर पुगेका हुन्।
गणतन्त्र घोषणापछि गद्दीविहीन बनेका पूर्व राजा ज्ञानेन्द्रले आज भक्तपुरको दरबारस्क्वायमा रहेको तलेजु भवानी र तौमढीमा रहेको आकाश भैरबको दर्शन एवं पुजा गरेका हुन् । उनको स्वागतका लागि ठूलो संख्यामा स्थानीयहरु दरबरस्क्वायर परिषरमा नेपालको राष्ट्रिय झण्डा बोकेर सहभागि भएका थिए ।
स्वागतमा झाकी, बिभिन्न साँस्कृतिक नाच एवं बाजाहरु बजाईएको थियो । स्थानीय अनन्तप्रसाद धौभडेलको संयोजकत्वमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश सांसद तथा केन्द्रीय सदस्य, नेपाली सेनाका पूर्व कर्णेल, जर्नेल एवं पूर्व मन्त्री एवं केन्द्रीय नेता टंक ढकाल, राप्रपाका सहमहामन्त्री रबिन्द्रप्रताप शाह, केन्द्रीय सदस्य रामहरि थापा, जमुना थापा, कार्यक्रमका सदस्य सचिव रामेश्वर थापा, मुकुन्द कार्कीलगायतका केन्द्रीय तथा जिल्ला नेताहरुले स्वागत गरेका थिए ।

भक्तपुर दरबार क्षेत्रस्थित खौमा गेटमा पूर्वराजा ज्ञानेन्द्रको भव्य स्वागत गरिएको थियो । त्यहाँबाट पैदल हिँडेर उनी भक्तपुर तलेजु पुग्नु भएको थियो भने त्यहाँ दर्शनपछि फेरि पैदल नै हिँडेर टौमढीस्थित भैरवनाथ मन्दिर पुग्ने पूजा एवं दर्शन गरेका थिए । यसअघि राजा हुँदै वीरेन्द्र भक्तपुर तलेजु पुगेका थिए ।
तलेजु भवानी र भैरवानाथको दर्शन पछि पूर्वराजा ज्ञानेन्द्रले सल्लाघारी स्थित होटल ग्रीनल्याण्डमा जनतासँग भेट गरेका छन् । करिब दुई घण्टा भन्दा बढी भेटमा बिताउनु भएका ५०० भन्दा बढीसँग भेट गर्दै भक्तपुरवासीको आवाज सुनेका थिए ।
त्यसक्रममा पत्रकारसँग उनले भक्तपुरको जनताको अपार माया पाएको प्रतिक्रिया दिदै जनतासँग भेट्न पाउँदा खुसी लागेको बताए । उनले जनताको माया लागेको बताउदै आफू प्रतिको विश्वास देखेर खुसी लागेको बताए ।



