काठमाडौं । चालु आर्थिक बर्षको २०८०/८१ को भदौमा आयात र निर्यात दुवै घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको विवरण अनुसार भदौमा २ खर्ब ५९ अर्ब रुपैयाँ बराबरको आयात भएको छ भने २६ अर्ब ४४ करोड रुपैयाँ बराबरको निर्यात भएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको विवरण अनुसार आयात ५.०६ प्रतिशत र निर्यात ७.७९ प्रतिशतले घटेको छ । गत आर्थिक बर्षको सोही अवधिमा आयात २ खर्ब ७३ अर्ब रुपैयाँ भएको थियो भने २८ अर्ब ६८ करोड रुपैयाँ बराबरको निर्यात गरेको थियो ।
आयात र निर्यातसँगै व्यापार घाटामा समेत गिरावट आएको छ । विभागका अनुसार व्यापार घाटा ४.४७ प्रतिशतले घटेको छ । चालु आर्थिक बर्ष २०८०/८१ को भदौमा २ खर्ब ३३ अर्ब रुपैयाँ बराबरको व्यापार घाटा भएको छ भने गत बर्षको सोही अवधिमा २ खर्ब ४४ अर्ब रुपैयाँ व्यापार घाटा भएको थियो ।
यस अवधिमा आयात निर्यात अनुपात २.९६ प्रतिशतले बढेको छ ।



