काठमाडौं । सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा रहेका सामुदायिक विद्यालयका शिक्षकहरुले गर्दै आएको आन्दोलनमा नेपाल ट्रेड युनियन काँग्रेस (एनटीयूसी) ले ऐक्यबद्धता जनाएको छ ।
शुक्रबार विज्ञप्ती जारी गर्दै एनटीयूसीले नेपाल शिक्षक महासंघको नेतृत्वमा काठमाडौं केन्द्रित आन्दोलन भइरहेको विषयमा गम्भीर ध्यानाकर्षण भएको भन्दै महासंघले उठाउँदै आएको विषयहरुलाई सम्बोधन हुनेगरी विधेयक ल्याउने सहमति गरी शिक्षकहरुलाई आ–आफ्नो कार्यस्थल फर्कने वातावरण निर्माण गर्न सरकारसँग माग गरेको छ ।
शिक्षा क्षेत्र सामाजिक, आर्थिक, राजनीतिक परिवर्तन एवं राष्ट्र विकासको एक महत्वपूर्ण आधारशिला रहेको भन्दै यो क्षेत्रलाई प्रोत्साहित, मर्यादित र व्यवस्थित गर्नुको सट्टा सरोकारवालाले उठाउँदै आएको माग, सुझाव एवं संवादलाई वेवास्ता गरी एकपक्षीय ढंगले सरकारद्वारा विधेयक संसद्मा पेश गर्नु नेपालको संविधान र लोकतन्त्रको आधारभुत सिद्धान्त विपरित रहेको एनटीयूसीले जनाएको छ ।
विधेयकले शिक्षक एवं कर्मचारीहरुको वृत्ति विकासको वेवास्ता, पेशागत एवं ट्रेड युनियन अधिकारको कुण्ठित लगायत मौलिक हकलाई अंकुश लगाउने कार्य गरेको समेत महासंघको तर्क छ ।



