काठमाडौं । नेपाली सेनाको सैनिक कल्याणकारी कोषमा ७७ अर्ब रुपैयाँभन्दा बढी जम्मा भएको छ । नेपाली सेनाका अनुसार यो कोषमा कुल ७७ अर्ब ६१ करोड रुपैयाँ जम्मा भएको हो । आइतबार आयोजित पत्रकार सम्मेलनमा नेपाली सेनाले यसबारे जानकारी दिएको हो ।
उक्त रकममध्ये ७१ अर्ब ५६ करोड रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थामा निक्षेपको रुपमा राखिएको छ । बाँकी रकम भने विभिन्न क्षेत्रमा लगानी गरिएको नेपाली सेनाले जनाएको छ ।
बैंकमा राखिएको उक्त रकममध्ये ५ करोड जोखिममा रहेको सेनाको विश्लेषण छ । अघिल्लो वर्षसम्म ८५ करोड रुपैयाँ जोखिमपूर्ण अवस्थामा थियो । सेनाले लगानी गरेको क्षेत्रहरुमा फ्युल स्टेशन, घरजग्गा, सुपथ मूल्य पसल, अस्पताल, विद्यालय लगायत छन् ।
हाल उक्त कोषको आयस्रोतमध्ये परिवास आवास भाडा, आयमूलक परियोजना, यूएन मिसनमा जाने नेपाली सेनासँग लिइने ५ प्रतिशत रकम लगायत छन् ।
सैनिक कल्याणकारी कोष बैंक तथा वित्तीय संस्थाका लागि देशकै सबैभन्दा ठूलो निक्षेपकर्ताको रुपमा रहँदै आएको छ । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, नेपाल टेलिकम, नेपाल दूरसञ्चार प्राधिकरण, सैनिक कल्याणकारी कोष, प्रहरी कल्याण कोष लगायत संस्थाहरु संस्थागत निक्षेपको प्रमुख हिस्सेदार हुन् ।



