काठमाडौं । सर्वाधिक चर्चामा रहेका दुइ महत्वपूर्ण विधेयकहरु संसदमा प्रस्तुत गर्ने निर्णय गरिएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको वैठकले संघीय निजामति सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धी विधेयक २०८० र संघीय शिक्षा ऐन सम्बन्धी विधेयक, २०८० संसदमा पेश गर्ने निर्णय गरेको हो ।
त्यसबाहेक, आजको वैठकले तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) नियमावली, २०८० स्वीकृत गर्ने, निजामति दिवसको अवसरमा निजामती सेवाका ४० जना कर्मचारीलाई पुरस्कृत गर्ने, स्वास्थ्य क्षेत्रको लैंगिक समानता तथा सामाजिक समावेशीकरण रणनीति, २०८० स्वीकृत गर्ने निर्णय समेत गरेको छ ।
त्यस्तै, चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा प्रा.डा. अञ्जनीकुमार झालाई नियुक्त गर्ने निर्णयसमेत आजको मन्त्रिपरिषद् वैठकले गरेको छ ।