काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले राष्टिय कृषि गणनाको नतिजा आज सार्वजनिक गरेको छ । सो विवरण अनुसार १० बर्षमा ३ लाख हेक्टर कृषियोग्य जग्गा घटेको देखाएको हो ।
नयाँ विवरणअनुसार नेपाल २२ लख १८ हेक्टर जमिनमा कृषि गरिएको छ । जुन २०६८ सालको तुलनामा ३ लाख ८ हजार हेक्टर कम हो । राष्ट्रिय कृषि गणना २०६८ मा २५ लाख हेक्टर कृषियोग्य जमिन थियो । हाल २२ लाख हेक्टर मात्रै कृषियोग्य जमिन छ । कृषिगणना अनुसार कृषक परिवारको संख्या बढे पनि कृषियोग्य जमिन भने घट्दै गएको देखिएको छ ।
हिमालमा ०.२ प्रतिशत कृषक परिवार बढ्दा कृषियोग्य जमिन २१.७ प्रतिशतले घटेको तथ्यांकले देखाएको छ । पहाडमा कृषक परिवार ७.७ प्रतिशतले बढेको छ भने १२ प्रतिशतले कृषि जग्गा घटेको छ । तराईमा ९.४ प्रतिशतले कृषक परिवार बढ्दा ११ प्रतिशतले कृषि जमिन घटेको छ ।
कृषि गणना २०६८ मा ३० हजार हेक्टर अस्थायी बाँझो जग्गा भएपनि अहिले ६० हजार हेक्टर जग्गा अस्थायी बाँझो रहेको छ । नयाँ तथ्यांकअनुसार कृषि गर्ने परिवार संख्या भने ३ लाख परिवारले वृद्धि भएको छ । देशभर ४१ लाख ३१ हजार परिवार कृषिमा आबद्ध छन् । २०६८ मा यस्तो परिवारको संख्या ३८ लाख ३१ हजार थियो ।



