images
images

शोधनान्तर स्थिति २ खर्ब ९० अर्ब बचतमा, २१ प्रतिशतले बढ्यो रेमिट्यान्स 


  • 358
    SHARES
  • २०८० भाद्र १ गते शुक्रबार

    शोधनान्तर स्थिति २ खर्ब ९० अर्ब बचतमा, २१ प्रतिशतले बढ्यो रेमिट्यान्स 

    काठमाडौं । शोधनान्तर स्थिति २ खर्ब ९० अर्ब ५२ करोड रुपैयाँ बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको आर्थिक बर्ष २०७९/८० तथ्याङ्क अनुसार अघिल्लो बर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ५५ अर्ब २६ करोड रुपैयाँले घाटामा रहेको थियो । 

    अमेरिकी डलरमा अघिल्लो वर्ष २ अर्ब १५ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा वर्षमा २ अर्ब २१ करोडले बचतमा रहेको छ । आर्थिक वर्ष २०७९/८० मा चालु खाता ७२ अर्ब १६ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्ष चालु खाता ६ खर्ब २३ अर्ब ३८ करोडले घाटामा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्ष ५ अर्ब १७ करोडले घाटामा रहेको चालु खाता समीक्षा वर्षमा ५५ करोड ७१ लाखले घाटामा रहेको छ ।

    समीक्षा वर्षमा पुँजीगत ट्रान्सफर २४.५ प्रतिशतले कमी आई ७ अर्ब ५४ करोड रुपैयाँ रहेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ५ अर्ब ९६ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष पुँजीगत ट्रान्सफर ९ अर्ब ९९ करोड रुपैयाँ र खुद प्रत्यक्ष वैदेशिक लगानी १८ अर्ब ५६ करोड रुपैयाँ रहेको थियो । 


    २१ प्रतिशतले बढ्यो रेमिट्यान्स 

    नेपाल भित्र्ने रेमिट्यान्स (विप्रेषण आप्रवाह) वृद्धि भएको छ । आर्थिक वर्ष २०७९/८० मा विप्रेषण आप्रवाह २१.२ प्रतिशतले वृद्धि भई १२ खर्ब २० अर्ब ५६ करोड पुगेको छ । अघिल्लो वर्ष विप्रेषण आप्रवाह ४.८ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.१ प्रतिशतले वृद्धि भई ९ अर्ब ३३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २.२ प्रतिशतले बढेको थियो । 

    समीक्षा वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४०.३ प्रतिशतले वृद्धि भई ४ लाख ९७ हजार ७ सय ४ पुगेको छ । अघिल्लो वर्ष यस्तो संख्या ३ सय ९२ प्रतिशतले बढेको थियो ।

    त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा वर्षमा १.८ प्रतिशतले कमी आई २ लाख ७७ हजार २ सय ७२ पुगेको छ । अघिल्लो वर्ष यस्तो संख्या १९८.५ प्रतिशतले बढेको थियो । समीक्षा वर्षमा खुद ट्रान्सफर २०.६ प्रतिशतले वृद्धि भई १३ खर्ब ४८ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो ट्रान्सफर ४.३ प्रतिशतले बढेको थियो । 

    २६ प्रतिशतले बढ्यो विदेशी विनिमय सञ्चिति

    नेपालको विदेशी विनिमय सञ्चिति बढेको छ । २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २६.६ प्रतिशतले बृद्धि भई २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ ।

    अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०८० असार मसान्तमा २३.१ प्रतिशतले वृद्घि भई ११ अर्ब ७४ करोड रुपैयाँ कायम भएको छ । 

    कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रुपैयाँ रहेकोमा २०८० असार मसान्तमा २७.४ प्रतिशतले वृद्धि भई १३ खर्ब ४५ अर्ब ७८ करोड रुपैयाँ कायम भएको छ । 

    बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा १ खर्ब ५९ अर्ब ४१ करोड रहेकोमा २०८० असार मसान्तमा २१.४ प्रतिशतले वृद्धि भई १ खर्ब ९३ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । २०८० असार मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.५ प्रतिशत रहेको छ । 

    आर्थिक वर्ष २०७९/८० को आयातलाई आधार मान्दा बैंकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११.७ महिनाको वस्तु आयात र १० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । 

    २०८० असार मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २८.६ प्रतिशत, ८३.० प्रतिशत र २५.१ प्रतिशत रहेका छन्। २०७९ असार मसान्तमा यी अनुपातहरु क्रमशः २४.६ प्रतिशत, ५७.८ प्रतिशत र २२.१ प्रतिशत रहेका थिए ।


    images
    images

    Logo