काठमाडौं । प्रिमियम मूल्यमा आईपीओ जारी गरेको रिलायबल लाइफ इन्योरेन्सको शेयर बुधबार बाँडफाँट भयो । त्यसको भोलिपल्ट अर्थात् बिहीबार उक्त कम्पनीले आर्थिक वर्ष २०७९/८० को कारोबारमा आधारित वित्तीय विवरण सार्वजनिक गर्यो । यो विवरणसँगै आईपीओ पाउने शेयरधनीहरु बजारमा यसको मूल्य कति पुग्ला भन्दै अड्कलबाजी गरिरहेका छन् ।
आईपीओ बाँडफाँट भइसकेकोले अबको केही दिनमै उक्त कम्पनीको शेयर दोस्रो बजारमा सूचीकृत भइ कारोबार सुरु हुनेछ । बैदेशिक रोजगारी, कर्मचारी, म्युचुअल फण्ड र सर्वसाधारण समेत गरी कम्पनीको १ करोड २० लाख कित्ता शेयर कारोबारयोग्य हुनेछ ।
१५७ रुपैयाँ प्रिमियम मूल्य थप गरेर आईपीओ ल्याएको उक्त कम्पनीको शेयरको बजार मूल्यको विश्लेषण गर्न हामीले केही दिनअघि सूचीकृत भइ कारोबार भएको आईएमई लाइफ इन्स्योरेन्सको मूल्य र अवस्थासँग तुलना गरेका छौं ।
कति पुग्ला मूल्य ?
बिहीबार आईएमई लाइफको शेयर बजारमा ५८६ रुपैयाँ प्रतिकित्तामा अन्तिम कारोबार भयो । सुरुको कारोबार नै ५२९ मा भएको कम्पनीले पहिलो र दोस्रो दिन वृद्धि हासिल गरेपछि ५५० देखि ६०० रुपैयाँको बीचमा रहेर उतारचढाव गरिरहेको छ । अहिलेको अवस्थामा आईएमईको अपेक्षित मूल्य यही हाराहारीलाई मान्न सकिन्छ ।
आईएमई र रिलायबल नेपाल लाइफको अबस्थाबीच त्यति धेरै भिन्नता छैन । दुबै कम्पनी एकैपटक लाइसेन्स पाएर सञ्चालनमा आएका एउटै बजार र समूह रहने कम्पनीहरु हुन् । वित्तीय रुपमा हेर्दा भने रिलायबल लाइफको अवस्था आईएमईको भन्दा अलिक राम्रो देखिन्छ ।
वित्तीय विवरण अनुसार आईएमईको नाफा २४ करोड ८ लाख रुपैयाँ रहँदा रिलायबल लाइफको ४३ करोड २३ लाख रुपैयाँ छ । आईपीओ जारी भएपछिको अवस्थालाई हेर्ने हो भने यो प्रतिशेयर क्रमशः ६.०२ प्रतिशत र १०.८० प्रतिशत हो । यद्यपि रिलायबलले वित्तीय विवरणमा प्रतिशेयर आम्दानी १५ प्रतिशत भन्दा बढी देखाएको छ । यद्यपि बीमा कम्पनीको लाभांश वितरणको आधार भनेको वित्तीय मूल्यांकनको रिपोर्ट हो ।
अर्को सबैभन्दा महत्वपूर्ण पक्ष भनेको व्यवसायको विस्तार हो । करिब करिब एकै समयदेखि कारोबार थालेका दुई कम्पनीमध्ये रिलायबल लाइफले हालसम्म १४ अबै ७७ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । सोही अवधिमा आईएमईले १३ अर्ब ४५ करोड बीमाशुल्क आर्जन गरेको छ । पछिल्लो वर्ष दुई कम्पनीको बीमाशुल्क आर्जन क्रमशः ३ अर्ब ७९ करोड र ४ अर्ब १८ करोड रुपैयाँ रहेको छ । यसको अर्थ यो वर्ष व्यवसाय विस्तारमा आईएमईले रिलायबल लाइफलाई उछिनेको देखिन्छ । यद्यपि अहिलेसम्म आईएमई भन्दा रिलायबल लाइफकै वित्तीय अवस्था बलियो रहेको रिपोर्टमा देखिन्छ ।
त्यसो त, यो विषयको पुष्टि नियामक नेपाल धितोपत्र बोर्डले नै गरेको छ । आईएमईलाई १२५ रुपैयाँ मात्रै प्रिमियम मूल्य तोक्न दिएको बोर्डले रिलायबल लाइफलाई १५७ रुपैयाँ प्रिमियम मूल्य थप गर्न अनुमति दियो । नियामकको अनुमति र वित्तीय अवस्थालाई समेत बजारले मूल्यांकन गर्ने सम्भावना देखिन्छ ।
यो आधारमा हेर्दा रिलायबलको आईपीओको बजार मूल्य ६५० रुपैयाँको हाराहारीमा स्थिर हुन जाने सम्भावना छ । यद्यपि ब्राण्ड भ्यालु लगायत कारणले यसमा केही तलमाथि हुने सम्भावना पनि उत्तिकै रहन्छ ।
रिलायबल लाइफको शेयरले १६२ देखि ४८६ रुपैयाँको प्रारम्भिक कारोबार रेञ्ज प्राप्त गर्नेछ । पहिलो कारोबार मूल्यले पनि यसको बजारमूल्यलाई केही हदसम्म प्रभाव पार्नसक्ने देखिन्छ ।



