काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले ३४ करोड ३७ लाख नाफा कमाएको छ । बैकले आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमाससम्मको विवरण अनुसार बैंकले असार मसान्तसम्ममा सो रकम बराबरको नाफा कमाउन सफल भएको हो । यो गत वर्षको तुलनामा ३४.९१ प्रतिशतले कम हो। गत वर्ष यस्तो रकम ५२ करोड ७१ लाख रुपैयाँ रहेको थियो ।
बैंकले सो रकम बराबर नाफा कमाउँदा वितरणयोग्य नाफा भने २४ करोड ८९ लाख रुपैयाँ रहेको छ । सो आधारमा बैंकको लाभाश क्षमता ७.६२ प्रतिशत रहेको छ । बैंकको खुद व्याज आम्दानी १ अर्ब ८० करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ६९ करोड रहेको थियो ।
बैंकले ५० अर्ब ५६ करोड निक्षेप संकलन गरेर ४० अर्ब १० करोड कर्जा विस्तार गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ४८ अर्ब ७७ करोड निक्षेप संकलन गरेर ५० अर्ब ५७ करोड कर्जा विस्तार गरेको थियो ।
हाल कम्पनीको चुक्तापुँजी ३ अर्ब २६ करोड रहेको छ । जगेडा कोषमा १ अर्ब ३ करोड छ भने कम्पनीको संचित नाफा २४ करोड ८९ लाख रहेको छ । कम्पनीको प्रति सेयर आम्दानी १०.५२ रुपैयाँ रहेको छ । त्यसैगरी नेटवर्थ १ सय ३९ रुपैयाँ ४२ पैसा रहेको छ भने मुल्य आम्दानी अनुपात ३०.६१ गुणा रहेको छ ।



