काठमाडौं । माछापुच्छ्रे बैंकको नाफा १० प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण अनुसार १ अर्ब ८५ करोड रुपयाँ नाफा गरेको छ । अघिल्लो वर्ष उक्त नाफा १ अर्ब ६८ करोड रुपैयाँ रहेको थियो ।
बैंकले कोर विजिनेसमा गरेको कार्यसम्पादनबाट नै नाफा वृद्धि गर्न सफल भएको हो । यो वर्ष बैंकको खुद ब्याज आम्दानी, गैरब्याज आम्दानी तथा व्यापारमूलक आम्दानी सबैमा सामान्य वृद्धि भएको छ । यो वर्ष बैंकको निष्क्रिय कर्जा अनुपात बढ्न जाँदा बैंकको इम्परिमेन्ट चार्ज सामान्य बढेको छ । यसका बाबजुद नाफामा वृद्धि भएको हो ।
बैंकिङ क्षेत्रमा कर्जा विस्तार निकै संकुचित भएको अवस्थामा बैंकले यो वर्ष कर्जा लगानी झण्डै २ अर्बले घटेर १ खर्ब २६ अर्बमा झरेको छ । निक्षेप भने झण्डै ९ अर्ब रुपैयाँले बढेर १ खर्ब ५४ अर्ब पुगेको छ ।
यो वर्ष आर्जित नाफा समेतका आधारमा माछापुच्छ्रे बैंकले करिब १५ प्रतिशत लाभांश दिने क्षमता बनाएको छ । १० अर्ब २५ करोड चुक्ता पुँजी भएको बैंकसँग १ अर्ब ५६ करोड बराबरको वितरणयोग्य नाफा रहेको विवरणमा उल्लेख गरिएको छ । नियामकीय प्रावधानका कारण बैंकले अघिल्लो आवमा शेयरधनीहरुलाई नाफा वितरण गरेको थिएन । त्यसको सकारात्मक प्रभाव समेत यो वर्षको रिपोर्टमा देखिएको छ ।
यो वर्षदेखि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको पुँजीकोषमा काउन्टरसाइक्लिकल बफर थप गरेको छ । यो अनुसार वाणिज्य बैंक तथा राष्ट्रिय स्तरका विकास बैंकले १३.५ प्रतिशत न्यूनतम पुँजीकोष कायम गर्नुपर्छ । अय बैंकहरु पुँजीकोषको दवावमा रहँदा माछापुच्छ्रेले भने यो पुँजीकोष कायम गर्न सफल भएको छ । असार मसान्तमा बैंकको १३.५७ प्रतिशत रहेको देखिएको छ ।
यद्यपि बैंकले उक्त अवस्थालाई कायम गर्न तथा थप खुकुलो बनाउन लाभांश वितरणमा भने बोनस शेयरलाई नै प्राथमिकतामा राख्नुपर्ने अवस्था देखिएको छ । यसैले अधिकांश लाभांश बोनसको रुपमा आउनसक्ने सम्भावना देखिन्छ ।
निष्क्रिय कर्जा बढेको बैंकको लोन लस प्रोभिजनमा चाप पर्दै गएको देखिए पनि यो करिब १२३ प्रतिशत छ । कस्ट अफ फण्डसँगै बेसरेट समेत बढेको उक्त बैंकको व्याजको स्प्रेडदर भने सहज अवस्थामा छ । असार मसान्तसम्म बैंकको स्प्रेडदर ३.९५ प्रतिशत रहेको छ ।



