काठमाडौं । सुन्दा पनि अनौठो लाग्ने गरी १ क्विन्टल (सय किलो)सुन त्रिभुवन विमानस्थलको भन्सार प्रशासनलगायत सबै सुरक्षा निकायलाई छलेर बाहिरीनै लाग्दा राजस्व अनुसन्धान विभागले सिनामंगलको सडकबाट बरामद गरे पनि सो तस्करी प्रकरणका मुख्य योजनाकारको बारेमा कुनै सूत्र हात लागेको छैन ।
हङकङको क्याथे प्यासिफिकको जहाजबाट ल्याइएको सो सुन भन्सार पास गराएर बाहिर लैजान लाग्दा साउन २ गते राजस्व अनुसन्धान विभागको विशेष टोलीले बरामद गरेको थियो ।
उच्च स्रोतका अनुसार सो तस्करीमा विशेषगरी चीनबाट कारोबार गर्ने, नेपालमा सुन भित्र्याउने र त्यसलाई भारतमा लगेर बिक्री गर्ने तीनवटा मुख्य समूहको संलग्नता रहेको अनुसन्धान अधिकृतहरूको विश्लेषण छ ।
तीनवटै समूहका सहयोगी व्यक्तिहरू पक्राउ परे पनि मुख्य योजनाकरका बारेमा भने अनुसन्धान अधिकृतहरूले हालसम्म कुनै भेउ पाउन नसकेको स्रोतको दाबी छ । यस काण्डको अनुसन्धान गर्ने राजस्व अनुसन्धान विभाग र सरोकारवाला सबै सरकारी निकाय बेखबर छन् ।
यद्यपि, छानबिनलाई तीव्रता दिइएकाले मुख्य योजनाकार पत्ता लाग्ने विभागका अधिकारीहरूको दाबी छ । तर, सुन तस्करी प्रकरणको घटना र त्यसअघिको अवस्थालाई समेत विश्लेषण गर्दा विभिन्न खाले प्रश्नहरू सिर्जना हुन पुगेका छन् । अनुसन्धान अधिकृतहरूकै विश्लेषणमा पनि सुन तस्करी निकै योजनाबद्ध रूपमा भएको देखिएको छ ।
विभागका अनुसन्धान अधिकृतहरूले यसअघि पनि ठुलो परिमाणमा सुन यसरी नै नेपाल भित्रिएको र सो सुन भारततर्फ गएको सुराक फेला पारिसकेको बताइएको छ । केही महिनादेखि ब्रेक सुलगायत विभिन्न फलामे तथा अन्य धातु र सामानभित्र लुकाएर सुन ल्याउने र त्यसलाई नेपालको विमानस्थल हुँदै भारतमा लगेर तस्करी गर्ने क्रम जारी थियो । त्यस क्रममा ठुलो परिमाणको सुन तस्करी भएको र तस्कर समूहले माथिका उपाय लगाएर अरर्बौं मूल्यको सुन भारतमा लगेर बिक्री वितरण गरिसकेको विभागका अधिकृतहरूको आशंका छ ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयको अभिलेखअनुसार पनि २ साउनमा १ सय किलो तस्करीको सुन पक्राउ पर्नुअघि पनि रेडी ट्रेडर्सकै नाममा एक पछि अर्को गर्दै ठुलो परिमाणको सुनसहितको ब्रेक सु भित्रिएको देखिन्छ । यो तथ्य राजस्व अनुसन्धान विभागको टोलीले विभिन्न ठाउँमा छापा मार्दा देखिएका ब्रेक सुका खोक्राहरूले नै पुष्टि गरिदिएको छ ।
विभागका अनुसन्धान अधिकृतहरूका अनुसार तस्करहरूले २ साउनमा जसरी स्कुटरको ब्रेक सुभित्र लुकाएर ब्ल्याक कोटेड गरेर सुन ल्याए, त्यस अघि पनि ठ्याक्कै सोही प्रक्रियामार्फत सयौं किलो सुन भित्र्याएको हुनसक्ने देखिन्छ । यसअघि लगातार तस्करीको सुन विमानस्थलबाट फुत्काउन सफल हुँदै आइरहेको गिरोह २ साउनसम्म निकै उत्साहित भएको घटनाक्रमले पुष्टि गर्छ । उसले सो अवधिमा दुई महिनासम्म तीन चार दिनको विचमा कैयौ किलो सुन निरन्तर रूपमा ब्रेक सुमार्फत भित्र्याएको स्रोतको दाबी छ ।



