काठमाडौं । चालु आर्थिक बर्षको ११ महिनामा २२.७ प्रतिशतले रेमिटेन्स बृद्धि भएको छ । बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती प्रतिवेदनमा चालु आर्थिक वर्षको ११ महिनासम्म ११ खर्ब १२ अर्ब ५२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.१ प्रतिशतले बढेको थियो ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३ प्रतिशतले वृद्धि भई ८ अर्ब ५१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १ दशमलव ८ प्रतिशतले बढेको थियो ।समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत (नयाँ) लिने नेपालीको सङ्ख्या ४६ दशमलव छ प्रतिशतले वृद्धि भई ४ लाख ५९ हजार ४ १५ पुगेको छ ।
त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा शून्य दशमलवब पाँच प्रतिशतले वृद्धि भई २ लाख ६० हजार २ सय ६२ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या २ सय ८ दशमलव ३ प्रतिशतले बढेको थियो ।
केन्द्रीय बैंकका अनुसार समीक्षा अवधिमा खुद ट्रान्सफर २१.९ प्रतिशतले वृद्धि भई १२ खर्ब २९ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ३ दशमलव ८ प्रतिशतले बढेको थियो ।
शोधानान्तर स्थिति २ खर्ब २८ अर्ब बचतमा
अघिल्लो वर्षको तुलनामा चालु खाता घाटामा उल्लेख्य सुधार भएको छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को ११ महिन ( साउन –जेठ) सम्मको आर्थिक वित्तीय अवस्था सार्वजनिक गर्दै शोधनान्तर स्थिति २ खर्ब २८ अर्ब ९८ करोडले बचतमा रहेको जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ६९ अर्ब ८१ करोड रुपैयाँले घाटामा रहेको थियो । । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब २६ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ७४ करोडले बचतमा रहेको छ ।
समीक्षा अवधिमा चालु खाता ६९ अर्ब ४० करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ५ खर्ब ९२ अर्ब १४ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४ अर्ब ९३ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ५३ करोड ६१ लाखले घाटामा राष्ट्र बैंकले जनाएको छ ।
समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर २२.५ प्रतिशतले कमी आई ७ अर्ब ३५ करोड रुपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ९ अर्ब ४९ करोड रुपैयाँ र खुद प्रत्यक्ष वैदेशिक लगानी १७ अर्ब ३५ करोड रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।
प्रतिवेदनअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ६.८३ प्रतिशत छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८.५६ प्रतिशत थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.६६ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ७.७६ प्रतिशत छ ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत मरमसला उप(समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क ३५ दशमलव २९ प्रतिशत, रेष्टुराँ तथा होटलको १४ दशमलव ३६ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १३ दशमलव ०६ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १० दशमलव ९८ प्रतिशत र सुर्तीजन्य पदार्थको आठ दशमलव ४९ प्रतिशतले बढेको छ भने घ्यू तथा तेल उप(समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १६ दशमलव ६० प्रतिशतले घटेको छ ।
कुल विदेशी विनिमय सञ्चिति १४ खर्ब ८० अर्ब ८७ करोड रुपैयाँ र अमेरिकी डलरमा ११ अर्ब ३० करोड रुपैयाँ बराबर देखिएको छ । चालु आर्थिक वर्ष २०७९/८० को एघार महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११ दशमलव २ महिनाको वस्तु आयात र ९.६ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।
गत जेठ मसान्तसम्ममा सङ्घीय सरकारको खर्च ११ खर्ब ७६ अर्ब ७ करोड रुपैयाँ र राजस्व परिचालन ८ खर्ब ३६ अर्ब ८५ करोड रुपैयाँ रहेको छ । यस अवधिसम्मको विस्तृत मुद्राप्रदाय सात दशमलव आठ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १० दशमलव ९ प्रतिशतले बढेको छ ।
बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ८.८ प्रतिशतले बढेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा ३.४ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १२.२ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ३ प्रतिशत रहेको छ ।



