काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप एकैदिन ७ अर्ब रुपैयाँले बढेको छ । नेपाल राष्ट्र बैंकको विवरण अनुसार असार ११ गते बैंकहरुको निक्षेप सो रकम बराबर बढ्न पुगेको हो ।
असार १० गते ५५ खर्ब ७६ अर्ब रुपैयाँ रहेको निक्षेप ११ गते ७ अर्बले बढेर ५५ खर्ब ८३ अर्ब पुगेको राष्ट्र बैंकले जनाएको छ । सोही समयमा वाणिज्य बैंकहरुको निक्षेप पनि ७ अर्बले नै बढेको छ । असार १० गते ४९ खर्ब २० अर्ब रुपैयाँ रहेको निक्षेप ११ गते ७ अर्बले बढेर ४९ खर्ब २७ अर्ब रुपैयाँ पुगेको छ ।
त्यस्तै, सोही अवधिमा अन्य बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप भने ६ खर्ब ५६ अर्ब रुपैयाँमा स्थिर रहेको छ ।
बैंकहरुको नक्षेप ७ अर्बले बढ्दा कर्जा लगानी पनि ६ अर्बले बढेको छ । असार १० गते ४८ खर्ब ५७ अर्ब रुपैयाँ रहेको कर्जा लगानी ११ गते ६ अर्बले बढेर ४८ खर्ब ६३ अर्ब रुपैयाँ पुगेको छ । सो समयमा वाणिज्य बैंकको कर्जा लगानी ५ अर्बले बढेर ४३ खर्ब ५ अर्ब रुपैयाँ रहेको छ भने अन्य बैंक तथा वित्तीय संस्थाको ५ खर्ब ५८ अर्ब रुपैयाँ रहेको छ ।
सो समयमा बैंकको सीडी रेसियो ८३.९२ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।



