काठमाडौं । नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्टको आईपीओ निष्काशन प्रक्रिया बन्द गर्ने निर्णय गरेको छ । बोर्डको आज बसेको बैठकले कम्पनीको आईपीओ बिक्री स्थगन गर्न निर्देशन दिएको हो ।
बोर्डले सो कम्पनीको आईपीओ निष्काशन लागि विक्री प्रबन्धक हिमालयन क्यापिटल र नविल इन्भेष्टमेन्टलाई पत्राचार गर्दै सर्वसाधारणलाई निष्काशनको गरेको सम्पूर्ण प्रक्रिया स्थगत गर्न निर्देशन दिएको छ । बोर्डले सर्वसाधारण लगानीकर्ताहरुको सुरक्षा तथा हित संरक्षणलाई मध्यनजर गर्दै सार्वजनिक निष्काशनको सम्पूर्ण प्रक्रिया स्थगन गर्न निर्देशन दिएको हो ।
सेबोनको पत्रमा भनिएको छ, ‘उपर्युक्त सम्बन्धमा तहाको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा सार्वजनिक निष्काशन भएको घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडलाई प्रदान गरेको इस्युअर रेटिङ, क्रेडिट रेटिङ्ग नियमावली, २०६८ को नियम ३४ को उपनियम (२) विपरित भए/नभएको वारेमा केयर रेटिङ्ग नेपाल लिमिटेडलाई तीन (३) दिन भित्र स्पष्ट गरी पेश गर्न मिति २०८०/०२/३० मा पत्राचार गरिएकोमा केयर रेटिङ्ग नेपाल लिमिटेडले हालसम्म जानकारी पेश नगरी कुनै आधार बिना म्याद थपको लागी अनुरोध गरेको साथै उक्त कम्पनीको सार्वजनिक निष्काशनमा माग भन्दा वढी कित्ता शेयरको लागि आवेदन प्राप्त भइसकेको अवस्थामा समेत सार्वजनिक निष्काशनको समयावधि थप गर्न सूचना प्रकाशित गरेको देखिएको सन्दर्भमा सर्वसाधारण लगानीकर्ताहरुको सुरक्षा तथा हित संरक्षणलाई मध्यनजर गर्दै उक्त कम्पनीको रेटिङ्ग र सार्वजनिक निष्काशन सम्बन्धी कैफियतको जाँचबुझका लागि हाललाई घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको सार्वजनिक निष्काशनको सम्पूर्ण प्रक्रिया स्थगन गर्न निर्णयानुसार जानकारी गराइन्छ ।’




