images
images

शोधनान्तर स्थिति २ खर्ब १४ अर्ब बचत, २३ प्रतिशतले बढ्यो रेमिट्यान्स


  • 430
    SHARES
  • २०८० जेठ २६ गते शुक्रबार

    शोधनान्तर स्थिति २ खर्ब १४ अर्ब  बचत, २३ प्रतिशतले बढ्यो रेमिट्यान्स

    काठमाडौं । शोधनान्तर स्थिति २ खर्ब १४ अर्ब ६७ करोड रुपैयाँ बचत रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको १० महिनाको तथ्यांक अनुसार अघिल्लो बर्षको सोही अवधिमा २ खर्ब ८८ अर्ब ५० करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ४१ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ६३ करोडले बचतमा रहेको छ ।

    समीक्षा अवधिमा चालु खाता ५४ अर्ब ६७ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ५ खर्ब ४५ अर्ब ६ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४ अर्ब ५५ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ४२ करोड ४५ लाखले घाटामा रहेको छ ।

    समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर २०.५ प्रतिशतले कमी आई ६ अर्ब ३६ करोड रुपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब ३६ करोड रुपैयाँ मात्र आएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ७ अर्ब ९९ करोड रुपैयाँ र खुद प्रत्यक्ष वैदेशिक लगानी १६ अर्ब ६५ करोड रुपैयाँ रहेको थियो ।

    त्यस्तै, २०८० वैशाख महिनामा अन्तर्राष्ट्रिय मुद्रा कोषबाट एक्स्टेन्डेड क्रेडिट फसिलिटी अन्तर्गत दोस्रो किस्ता वापतको ६ अर्ब ८८ करोड रुपौयँ (अमेरिकी डलर ५ करोड २७ लाख) प्राप्त भएको छ ।

    २३ प्रतिशतले बढ्यो रेमिट्यान्स

    नेपाल भित्र्ने रेमिट्यान्स (विप्रेषण आप्रवाह) वृद्धि भएको छ । १० महिनामा रेमिट्यान्स २३।४ प्रतिशतले वृद्धि भएको हो । चालु आर्थिक बर्षको बैशाख मसान्तसम्ममा विप्रेषण आप्रवाह २३.४ प्रतिशतले वृद्धि भई १० खर्ब ५ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.५ प्रतिशतले बढेको थियो ।

    अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३।४ प्रतिशतले वृद्धि भई ७ अर्ब ७० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.२ प्रतिशतले घटेको थियो। समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५१.४ प्रतिशतले वृद्धि भएको छ । समिक्षा अवधमिा ४ लाख २१ हजार २७९ ले श्रम स्वीकृति लिएका छन् ।

    त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ३.७ प्रतिशतले वृद्धि भएको छ। योसंगै यस्तो संख्या २ हजार ३८ हजार ९७६ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १८५.५ प्रतिशतले बढेको थियो।

    समीक्षा अवधिमा खुद ट्रान्सफर २२.५ प्रतिशतले वृद्धि भई ११ खर्ब १० अर्ब २२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ०.३ प्रतिशतले बढेको थियो ।

    २० प्रतिशतले बढ्यो विदेशी विनिमय सञ्चिति

     विदेशी विनिमय सञ्चिति २० प्रतिशतले बढेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २०.९ प्रतिशतले वृद्धि भई २०८० वैशाख मसान्तमा १४ खर्ब ७० अर्ब ३३ करोड पुगेको छ । 

    अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०८० वैशाख मसान्तमा १७.६ प्रतिशतले वृद्धि भई ११ अर्ब २१ करोड कायम भएको छ । 

    कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रुपौयँ रहेकोमा २०८० वैशाख मसान्तमा २४.१ प्रतिशतले वृद्धि भई १३ खर्ब १० अर्ब ६६ करोड रुपैयाँ पुगेको छ ।  बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा १ खर्ब ५९ अर्ब ४१ करोड रुपैयाँ रहेकोमा २०८० वैशाख मसान्तमा ०.२ प्रतिशतले वृद्धि भई १ खर्ब ५९ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ । २०८० वैशाख मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.६ प्रतिशत रहेको छ ।

     

     

     

     

     

     

     

     

     


    images
    images

    Logo