काठमाडौं । दुई बैंकले मर्जरमा जानको लागि अन्तिम सम्झौतामा हस्ताक्षर गरेका छन् । लक्ष्मी बैंक र सनराइज बैंकले मर्जरको लागि अन्तिम सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
आज आयोजित एक कार्यक्रममा लक्ष्मी बैंकको तर्फबाट सञ्चालक दिनेश पौड्याल तथा सनराइज बैंकको तर्फबाट सञ्चालक बच्छराज तातेडले मर्जरसम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । दुईबैंकले १ः१ को अनुपातमा मर्जर गर्ने गरी स्वाप रेसियो तय गरेका छन् ।
मर्ज भएपछि बन्ने संस्थाको नाम लक्ष्मी सनराइज बैंक लिमिटेड हुनेछ भने लक्ष्मी बैंकका हालका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाह मर्जरपछि बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृत रहनेछन् । सञ्चालक समितिमा लक्ष्मी बैंकबाट तीन र सनराइज बैंकबाट तीन जना प्रतिनिधि रहने सहमति भएकाे छ ।
गत पुस २५ गते मर्जरमा प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेका थिए । लक्ष्मी बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड रुपैयाँ छ भने सनराइज बैंकको १० अर्ब ११ करोड रुपैयाँ छ। दुई बैंक मर्जपछि २१ अर्ब ६५ करोड चुक्ता पुँजी हुनेछ।



