काठमाडौं । बीमाको पहुँच ४४.५५ प्रतिशत जनसंख्यामा पुगेको छ । नेपाल बीमा प्रधिकरणको तथ्यांक अनुसार चैत मसान्तसम्ममा कुल जनसंख्याको ४४.५५ प्रतिशतले जीवन बीमा गराएका हुन् । यो संख्या म्यादी लघुम्यादी र वैदेशिक रोजगार जीवन बीमालेख सहित हो ।
गत वर्षको सोही अवधिमा बीमाको दायरामा आएको जनसंख्या ३७.३५ प्रतिशत रहेको थियो ।
म्यादी लघुम्यादी र बैदेशिक रोजगार जीवन बीमालेख बाहेक ५२ लाख ९३ हजार जनाले जीबन बीमा गरेका छन् । म्यादी जीवन बीमालेखसहित भने कुल बीमितको संख्या १ करोड २० लाख जनामा बीमाको पहुँच पुगेको छ । यो ३९.७४ प्रतिशत हो ।
म्यादी र वैदेशिक रोजगार जीवन बीमालेखलाई हटाउँदा भने अहिलेसम्म जनसंख्याको १७.४३ प्रतिशतले मात्रै जीवनबीमा पोलिसी किनेको बीमा प्राधिकरणले जनाएको छ ।
चैत मसान्तसम्ममा बीमा कम्पनीले कुल १ खर्ब ३४ अर्ब ७४ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । यो गत वर्षको तुलनामा २.६७ प्रतिशतले बढी हो । एक वर्षमा जीवन बीमालेख संख्या भने २०.१४ प्रतिशतले बढेको छ ।
गत वर्षको सोही अवधिमा जीबन बीमा कम्पनीहरुले जारी गरेको जीवन बीमालेख संख्या १ करोड १७ लाख थियो । अहिले यस्तो संख्या २०.१४ प्रतिशतले बढेर १ करोड ४१ लाखमा पुगेको छ ।
त्यस्तै, निर्जीवन बीमा कम्पनीहरुले जारी गरेको बीमालेख संख्या भने गत वर्षको भन्दा ०.४२ प्रतिशतले घटेको छ । चैत मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरुले २१ लाख ६६ हजार वटा पोलिसी जारी गरेका छन् ।



