images
images

वाणिज्य बैंकको ८ महिनाको कमाइ ४९ अर्ब, मर्जमा गएका बैंकमा देखिएन ‘सिनर्जी’


  • 364
    SHARES
  • २०८० बैशाख ४ गते सोमबार

    वाणिज्य बैंकको ८ महिनाको कमाइ ४९ अर्ब, मर्जमा गएका बैंकमा देखिएन ‘सिनर्जी’

    काठमाडौं । चालु आर्थिक वर्षको पहिलो आठ महिनामा वाणिज्य बैंकहरुले करिब ४९ अर्ब रुपैयाँ नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार यो अवधिमा हाल सञ्चालनमा रहेका २१ बैंकहरुले ४८ अर्ब ८३ करोड रुपैयाँ बराबरको खुद नाफा कमाएका हुन् । यो नाफा अघिल्लो आर्थिक वर्षमा अस्थित्वमा रहेका सबै बैंकहरुको नाफाभन्दा ४.२ प्रतिशत बढी हो । अघिल्लो वर्ष बैंकहरुले सोही अवधिमा ४६ अर्ब ८६ करोड रुपैयाँ नाफा कमाएका थिए । 

    उक्त नाफामध्ये यो अवधिमा सर्वाधिक नाफा नबिल बैंकले गरेको छ । नबिलले यो अवधिमा ५ अर्ब ३२ करोड रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष नबिल बैंक र सो बैंकमा बिलय भएको नेपाल बंगलादेश बैंकले कमाएको कुल नाफा ४ अर्ब ७ करोड रुपैयाँ थियो । यो वर्ष बैंकले ३० प्रतिशत भन्दा बढी नाफा वृद्धि गरेको छ । 

    त्यस्तै, ग्लोबल बैंकले ४ अर्ब ३७ करोड, एनआईसी एशिया बैंकले ४ अर्ब ५८ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३ अर्ब ४९ करोड र राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ३६ करोड नाफा गर्दै क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं स्थानमा छन् । यीमध्ये ग्लोबल आईएमई र इन्भेष्टमेन्ट बैंकको नाफा अघिल्लो वर्षको तुलनामा घटेको छ । एनआईशी एशिया बैंक र वाणिज्य बैंकले भने क्रमशः २३ र २७ प्रतिशतको वृद्धि हासिल गरेका छन् । 

    यो अवधिमा थप ६ बैंकको नाफा २ अर्बको रेञ्जमा छन् । यी बैंकहरुमा क्रमशः एनएमबि, प्राइम, स्ट्यान्डर्ड चार्टर्ड, एभरेष्ट, नेपाल बैंक र कुमारी बैंक छन् । त्यस्तै, सानिमा बैंक, हिमालयन बैंक, नेपाल एसबीआई बैंक, सिद्धार्थ बैंक, माछापुच्छ«े बैंक, लक्ष्मी बैंक, सिटिजन्स बैंक र सनराइज बैंकको नाफा १ अर्बको रेञ्जमा छ । अघिल्लो त्रैमासमा नोक्सानमा देखिएको कृषि विकास बैंकले नोक्सानीको अवस्था परिपूर्ति गर्दै ४१ करोड नाफा देखिँदा प्रभु बैंकको भने नाफा नोक्सान विवरण प्राप्त भएको छैन । 

    यो अवधिमा सर्वाधिक नाफा एभरेष्ट बैंकले बढाएको छ । सो बैंकले १ अर्ब २२ करोड रहेको नाफाको अवस्थालाई अहिले बढाएर २ अर्ब २३ करोड पुर्याएको छ । यो झण्डै ८२ प्रतिशतको वृद्धि हो । त्यस्तै, स्ट्यान्डर्ड चार्टर्डले ६२ प्रतिशत र नेपाल एसबीआई बैंकले यो अवधिमा ४३ प्रतिशतको वृद्धि हासिल गरेका छन् । नाफा वृद्धिको हिसाबले नबिल चौथो स्थानमा रहँदा राष्ट्रिय वाणिज्य बैंक, एनआईसी एशिया बैंक र सानिमा बैंकको नाफा वृद्धि पनि २० प्रतिशत भन्दा माथि रहेको देखिएको छ । 

    नाफाको विवरण प्राप्त नभएको प्रभु बैंकबाहेक यो अवधिमा अन्य ९ वटा बैंकको नाफा घटेका छन् । कृषि विकास बैंकको नाफा सर्वाधिक ७७ प्रतिशतले घट्दा कुमारी बैंकको २८, सिद्धार्थको २३, सिटिजन्स बैंकको १३ र हिमालयन बैंकको १२ प्रतिशतले नाफा घटेको छ । बाँकी बैंकको नाफा एकल अंकमा घटेका छन् । यी बैंकहरुमा एनआईएमबी, प्राइम, ग्लोबल र सनराइज बैंक छन् । 

    यो अवधिमा १४ वटा बैंकहरु मर्जर तथा प्राप्ती प्रक्रिया पूरा गरी ७ वटा बनेका थिए । यसरी मर्जर भएका बैंकहरुमा नबिल र बंगलादेश बैंकको नाफामा उल्लेख्य वृद्धि भएको छ । ग्लोबल आईएमई र बैंक अफ काठमाण्डू, कुमारी र एनसीसी, हिमालयन र सिभिल तथा एनआईएमबी र मेगा बैंकको नाफा भने मर्जरपछि पनि घटेको देखिएको छ । प्रभु र सेञ्चुरी बैंकको विवरण भने प्राप्त भएको छैन ।

    बैंकहरु मर्जर हुँदा स्वेच्छिक अवकाशमा जाने कर्मचारीहरुलाई उच्च रुपमा सेवा सुविधा दिएर पठाउनुपर्ने, समायोजित कर्मचारी अनुसार सेवा सुविधा वृद्धि गर्नुपर्ने तथा शाखा मर्जर लगायत कार्यमा समेत खर्च हुने भएकोले मर्जरको सिनर्जी प्रभाव देखिन नसकेको हो । 


    images
    images

    Logo