खोटाङ । मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको सेखुवा–चखेवाभञ्ज्याङ सडकखण्ड कालोपत्र नहुंदा आवागमनमा कठिनाई भएको छ । सो सडक खण्ड अन्तर्गत करिव १० किलोमिटर सडक कालोपत्रै नगर्दा सानो पानी पर्दा हिलाम्य भएर सडकमा यात्रा गर्न गाह्रो हुने समस्या भएको हो । अन्यत्र सबै सडक कालोपत्रे भइसक्दा पनि त्यहाँका निर्माण व्यवसायीले सडक निर्माणमा ढिलाई गर्दा स्थानीयसंगै यात्रुहरु मारमा पर्दै आएका छन् ।
सडक कालोपत्रे नहुंदा २० मिनेको बाटोलाई एक घण्टा लगाउँनु पर्ने बाध्यता रहेको बताउँदै स्थानीय कालु राई भन्छन्, ‘‘पिच भएको भए २० मिनेटमा यात्रा गर्न सकिने १० मिलोमिटर यात्रा गर्न अहिले एक घण्टा खर्चनु पर्ने अवस्था छ ।
अझ पानी पर्यो भने त दोब्बरबढी समय लाग्ने गरेको राई बताउँछन् । यसैबीच जिल्ला समन्वय समिति खोटाङले सो सडक तत्काल कालोपत्र गरी निर्माण सम्पन्न गराउन भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालाको ध्यानाकर्षण गराएको छ ।
पटकपटक अनुरोध गर्दा र दबाब दिँदा पनि ठेकेदारले सेखुवा–चखेवाभञ्ज्याङ सडकखण्ड कालोपत्रको काम नगरेको जनाउँदै जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले आइतबार मन्त्री ज्वालालाई ध्यानाकर्षणपत्र बुझाउदै सडक कालोपत्रको काम तत्काल सम्पन्न गर्ने वातावरण बनाउन आग्रह गरेका हुन् ।
ठेकेदारलाई धेरै पटक अनुरोध र दबाब दिँदा पनि काम नभएपछि मन्त्रालयमै पुगेर मन्त्रीलाई ध्यानाकर्षणपत्रमा बुझाउन बाध्य हुएको समन्वय प्रमुख राईले बताए । ठेक्का लागेको पाँच वर्ष बित्दासमेत भारत कन्स्ट्रक्सन–मैनाचुली–सिद्धिशाही जेभीले सडक कालोपत्रको काम सम्पन्न नगर्दा त्यस्तो समस्या भएको हो । ठेकदारले चैत पहिलो साताबाट डिबिएसटीको काम सुरु गर्ने र वैशाख मसान्तसम्ममा डिबिएसटीको काम सम्पन्न गर्नेलगायतका प्रतिबद्धता जनाएका थिए तर, उसले आफ्नो सेड्युलअनुसार काम नगरेपछि मन्त्रीलाई भेटेर ध्यानाकार्षणपत्र बुझाएको राईले बताए ।



