काठमाडौं । नेपालको कुल विदेशी मुद्रा सञ्चितिमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १५.२ प्रतिशतले वृद्धि भई २०७९ फागुन मसान्तमा १४ खर्ब १ अर्ब २१ करोड रुपैयाँ पुगेको हो ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०७९ फागुन मसान्तमा १२.१ प्रतिशतले वृद्धि भई १० अर्ब ६९ करोड कायम भएको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रुपैयाँ रहेकोमा २०७९ फागुन मसान्तमा १७.८ प्रतिशतले वृद्धि भई १२ खर्ब ४४ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा १ खर्ब ५९ अर्ब ४१ करोड रहेकोमा २०७९ फागुन मसान्तमा २.० प्रतिशतले कमी आई १ खर्ब ५६ अर्ब २७ करोड कायम भएको छ । २०७९ फागुन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.९ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
नेपालसँग अहिलेको अवस्थामा ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने विदेशी मुद्राको सञ्चिति रहेको राष्ट्र बैंकले जनाएको छ ।



