images
images

८ महिनामा २५ प्रतिशतले बढ्यो रेमिटेन्स, शोधनान्तर स्थिति १ खर्ब ४८ अर्बले बचत 


  • 358
    SHARES
  • २०७९ चैत्र २८ गते मंगलबार

    ८ महिनामा २५ प्रतिशतले बढ्यो रेमिटेन्स, शोधनान्तर स्थिति १ खर्ब ४८ अर्बले बचत 

    काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ८ महिनामा रेमिटेन्स २५ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार फागुन मसान्तसम्ममा ७ खर्ब ९४ अर्ब ३२ करोड रुपैयाँ बराबरको रेमिटेन्स नेपाल भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा त्यस्तो रेमिटेन्स १.३ प्रतिशतले घटेको थियो । 

    नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४.८ प्रतिशतले वृद्धि भई ६ अर्ब ९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २.६ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर २३.९ प्रतिशतले वृद्धि भई ८ खर्ब ७६ अर्ब ७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १.६ प्रतिशतले घटेको थियो । 

    शोधनान्तर स्थिति १ खर्ब ४८ अर्बले बचत 

    अघिल्लो वर्षको तुलनामा चालु खाता घाटामा उल्लेख्य सुधार भएको छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को आठ महिन ( साउन –फागुन) सम्मको आर्थिक वित्तीय अवस्था सार्वजनिक गर्दै शोधनान्तर स्थिति १ खर्ब ४८ अर्बले बचत रहेको जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २ खर्ब ५८ अर्ब ६० करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब १७ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब १२ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ । 

    समीक्षा अवधिमा चालु खाता ४४ अर्ब ३१ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ४ खर्ब ६० अर्ब ७२ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३ अर्ब ८६ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ३४ करोड ५७ लाखले घाटामा रहेको छ । 

    समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर २०.३ प्रतिशतले कमी आई ५ अर्ब ५८ करोड रुपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब १७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ७ अर्ब रुपैयाँ र खुद प्रत्यक्ष वैदेशिक लगानी १६ अर्ब ३० करोड रुपैयाँ रहेको थियो ।

     

     

     

     

     


    images
    images

    Logo