काठमाडौं । प्रिमियम मूल्यसहित आईपीओ निष्काशनको लागि ५ कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । बोर्डको तथ्यांक अनुसार ४ वटा जीवनबीमा कम्पनी र एउटा उत्पादनमूलक कम्पनीले अंकित मूल्यमा प्रिमियम रकम थप गरेर आईपीओ जारी गर्न भन्दै आवेदन दिएका हुन् ।
त्यसरी अनुमति माग्ने कम्पनीहरुमा सिटिजन लाइफ इस्योरेन्स, आइएमई लाइफ इस्योरेन्स, सन नेपाल लाइफ इस्योरेन्स, रिलायन्स लाइफ इस्योरेन्स र सोनापुर मिनरल्स एण्ड आयल छन् ।
सिटिजन लाइफ इस्योरेन्सले ३ अर्ब १५ करोड ५६ लाख २५ हजार रुपैयाँ बराबरको ११ करोड २५ लाख कित्ता आईपीओ निष्काशनको अनुमति मागेको छ । सो कम्पनीले अंकित १०० रुपैयाँ मूल्यमा १९० रुपैयाँ प्रिमियम जोडेर २९० रुपैयाँमा आईपीओ निष्काशन गर्ने लागेको हो । कम्पनीले शेयरको बिक्रीका लागि एनआईविएल एस क्यापिटललाई बिक्री प्रबन्धक तोकिसकेको छ ।
त्यस्तै, आइएमई लाइफ इस्योरेन्सले १ सय रुपैयाँ अंकित मूल्यमा १७६ रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता २७६ रुपैयाँमा आईपीओ निष्काशनको लागि अनुमति माग गरेको छ । इस्योरेन्सले १ करोड २० लाख कित्ता शेयर निष्काशन गर्ने प्रस्ताव गरेको छ । कम्पनीको बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ ।
सन नेपाल लाइफ इस्योरेन्सले अंकित मूल्यमा प्रतिकित्ता १५०.५५ रुपैयाँ प्रिमियम थप गरेर २ सय ५० रुपैयाँ ५५ पैसामा आईपीओ निष्काशको लागि अनुमति माग गरेको छ । कम्पनीले ९६ लाख कित्ता शेयर निष्काशन गर्ने लागेको छ । यसको बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट एण्ड बैकिङ रहेको छ ।
त्यस्तै, रिलायन्स लाइफ इस्योरेन्सले १२ करोड कित्ता आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले १ सय १२ रुपैयाँ प्रिमियम थप गरेर २ सय १२ रुपैयाँमा आईपीओ निष्काशन गर्नेगरी अनुमति मागेको छ । कम्पनीको निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल रहेको छ ।
सोनापुर मिनरल्स एण्ड आयलले वैदेशिक रोजगारी र स्थानीयवासीको लागि १ सय २५ रुपैयाँ प्रिमियम थप गरेर २ सय २५ रुपैयाँमा बिक्री गर्ने भएको छ । सर्वसाधारणलाई भने १ सय ४९ रुपैयाँ ८४ पैसा प्रिमियम थप गरेर २ सय ४९ रुपैयाँ ८४ पैसामा शेयर बिक्री गर्न अनुमति मागेको छ । कम्पनीले १ करोड २३ लाख २ सय कित्ता आईपीओ निष्काशन गर्न लागेको छ । कम्पनीले उक्त शेयरको बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटललाई यसअघि नै नियुक्त गरिसकेको छ ।



