काठमाडौं । ८ महिना जीवन बीमा कम्पनीहरुले ९३ अर्ब ७५ करोड बीमाशुल्क संकलन गरेका छन् । बीमा प्रधिकरणले सार्वजनिक गरेको विवरण अनुसार फागुन महिनासम्ममा १९ वटा कीमा कम्पनीहरुले सो रकम बराबरको बीमाशुल्क संकलन गरेका हुन् ।
प्राधिकरणको तथ्याङक अनुसार जीवन बीमा कम्पनीहरुको गत वर्षमा यस्तो रकम ९२ अर्ब १९ करोड रुपैयाँ रहेको थियो गतवर्षको तुलनामा यो वर्ष बीमा शुल्क संकलन १.६८ प्रतिशतले बढेको छ ।
प्राधिकरणका अनुसार हाल सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुले फागुन महिनामा मात्रै १० अर्ब ३६ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।
१९ कम्पनीले संकलन गरेको कुल बिमाशुल्क मध्ये सबैभन्दा धेरै नेपाल लाइफले गरेको छ सो कम्पनीले यस अवधिमा २४ अर्ब ३७ करोड बीमाशुल्क संकलन गरेको छ भने सोही अवधिमा एलआइसी नेपालले ११ अर्ब ४९ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । त्यस्तै, नेशनल लाइफले १० अर्ब २२ करोड रूपैयाँ बीमाशुल्क संकलन गरेको प्राधिकरणले जनाएको छ ।
त्यस्तै, सो अवधिमा सबैभन्दा थोरै बीमाशुल्क संकलन गर्ने कम्पनीमा महालक्ष्मी लाइफ इन्स्योरेन्स रहेको छ । यस कम्पनीले १ अर्ब १ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।



