images
images

प्रचण्डका घरबेटीको दुईवटा ठेक्का तोड्न सडक विभागको दुई हप्ते सूचना


  • 327
    SHARES
  • २०७९ चैत्र १३ गते सोमबार

    प्रचण्डका घरबेटीको दुईवटा ठेक्का तोड्न सडक विभागको दुई हप्ते सूचना

    काठमाडौं । सडक विभागले घरबेटी भनेर चिनिने शारदाप्रसाद अधिकारीको दुई ठेक्का तोड्ने प्रक्रिया थालेको छ । अधिकारीको स्वामित्वमा रहेको शैलुङ कन्स्ट्रक्सनले निर्माणको जिम्मेवारी पाएको बालाजुदेखि रानीपौवा सडक र भक्तपुर–नगरकोट सडकको ठेक्का तोड्न विभागले १४ दिने सूचना जारी गरेको हो । 

    उक्त कम्पनीले पुस मसान्तसम्म दुवै सडकको निर्माण कार्य सम्पन्न गर्नेगरी  पछिल्लो समय पाएको थियो । तर, समयावधिभित्र कुनै पनि प्रगति हुन नसकेको भन्दै तोकिएको समयभित्र चित्तबुझ्दो कारण खुलाउन नसके ठेक्का रद्द गरी आवश्यक कारबाही गरिने विभागको भनाइ छ ।

    त्यसो त, उक्त कम्पनीले सन् २०१४ जुनमा बालाजु–रानीपौवा सडकको ठेक्का पाएको थियो। भारतको एक्जिम बैंकसँग ऋण सहयोगमा स्तरोन्नति हुन लागेको उक्त सडक प्रारम्भिक सम्झौता अनुसार २०१६ को जुनमा पूरा गर्नुपथ्र्यो । तर, समय सकिएको ७ वर्ष बितिसक्दा पनि उक्त आयोजना पूरा हुन सकेको छैन । उक्त खण्डको निर्माणका लागि आयोजनाले हालसम्म पटक पटक समय थप गरिसकेको छ। 

    त्यस्तै, भक्तपुरको चाँगुनारायण–सिपाघाट सडक पनि सोही समयदेखि अलपत्र अवस्थामा छ । भक्तपुर–नगरकोट सडक खण्ड निर्माण गर्न शैलुङ कन्स्ट्रक्सन–एआइपिएल (आरामाली इन्फ्रा पावर लिमिटेड) जेभीले २०७१ जेठ २२ मा पहिलो सम्झौता गरेको थियो । सम्झौता अनुसार २०७३ कात्तिकमा निर्माण सम्पन्न हुनुपर्ने काम अझै सकिएको छैन । 

    यसअघि पनि नगरकोटवासीले सडक किनारादेखि सार्वजनिक यातायातसम्ममा शैलुङ कन्स्ट्रक्सनका प्रमुख शारदाप्रसाद अधिकारीको फोटो टाँसेर विरोध गरेका थिए भने चाँगुनारायण नगरपालिका–६ र ७ का वडाध्यक्षहरुले असारमा तीन दिनसम्म सडकमै वडा कार्यालयको काम गरेर विरोध जनाएका थिए।


    images
    images

    Logo