images
images

सुपर मादी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जडान


  • 439
    SHARES
  • २०७९ चैत्र ११ गते शनिबार

    सुपर मादी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जडान

    काठमाडौं । कास्कीको मादी गाउँपालिका वडा नं १ र २ मा निर्मित सुपर मादी जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान गरिएको छ ।

    कूल ४४ मेगावाटको जलविद्युत् आयोजनाको निमार्ण सम्पन्न गरी आन्तरिक परीक्षण भई आयोजनास्थलबाट १९ किलोमिटर दूरीमा रहेको लेखनाथ सवस्टेशनमा जडान गरिएको कार्यकारी अध्यक्ष पुष्पज्योति ढुङ्गानाले राससलाई जानकारी दिए ।

    उनका अनुसार आयोजनाको बाँध, सुरुङमार्ग, विद्युत् गृहलगायत सम्पूर्ण क्षेत्रको काम सम्पन्न भइसकेको छ । आयोजना निर्माणमा रू आठ अर्ब ७० करोड खर्च भएको अध्यक्ष ढुङ्गानाले बताए । २०७५ साल मङ्सिरदेखि निर्माण थालेको बताउँदै उहाँले २०७८ चैतदेखि विद्युत् उत्पादन गर्ने लक्ष्य राखिए पनि कोरोना महामारी तथा २०७८ असार १ मा मादी खोलामा आएको बाढीलगायत कारणले केही समय ढिलो भएको उल्लेख गरे ।

    सुरुमा ७ अर्ब ४७ करोड रुपैयाँ लागत भनिए पनि बाढी प्रकोप, बैंकको ब्याजदरमा आएको परिवर्तन, अर्थतन्त्रमा देखिएको तरलतालगायत कारणले उक्त लागत बढ्न गएको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार बाढीका कारण १ अर्ब रुपैयाँ भन्दा बढी नोक्सानी भएको छ । मुख्य सुरुङको लम्बाइ करिब छ किलोमिटर रहेको र कमजोर भौगोलिक अवस्थाका कारण करिब ८ सय मिटर पेनस्टक पाइप सुरुङभित्र जडान गर्दा करिब २५ करोड लागत थपिएको जनाइएको छ । 

    आयोजनाका लागि २ अर्ब १० करोड रुपैयाँ शेयर पुँजी रहेको छ । बाँकी सानिमा विकास बैंकको अगुवाइमा राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक, कृषि विकास बैंक, एभरेष्ट बैंक, प्रभु बैंक र हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कं लि।को लगानी रहेको अध्यक्ष ढुङ्गानाले जानकारी दिए।

    वार्षिक २४२ दशमलव ६५ गिगावाट घन्टा बिजुली उत्पादन हुने आयोजनाको सुपर मादी हाइड्रो पावर लिमिटेड प्रवद्र्धक एवं सिभिल ठेकेदार फेवा कन्ट्रक्सन प्रालि, हाइड्रो मेकानिकल ठेकेदार माछापुच्छे मेटल एण्ड मेसिनरी प्रालि र इलेक्ट्रो मेकानिकल ठेकेदार एशिया प्यासिफिक पावर टेक प्रालि र परामर्शदाता सानिमा हाइड्रो एण्ड इञ्जिनियरिङ कम्पनी रहेका छन् । 


    images
    images

    Logo