images
images

तनहुँको सराङघाट सबस्टेसनको उद्घाटन


  • 288
    SHARES
  • २०७९ चैत्र ६ गते सोमबार

    तनहुँको सराङघाट सबस्टेसनको उद्घाटन

    तनहुँ । तनहुँको बन्दिपुर गाउँपालिका वडा नं ६ मा निर्माण भएको ३३/११ केभीको सराङघाट सबस्टेसन उद्घाटन गरिएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र एसियाली विकास बैंक (एडिबी) नेपाल आवासीय  नियोगका प्रमुख आर्नो कुश्वाले संयुक्त रुपमा सोमबार सबस्टेसनको उद्घाटन गर्नु भएको छ ।

    नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी तनहुँ हाइड्रोपावर लि।ले निर्माण गरिरहेको १४० मेगावाटको तनहुँ जलविद्युत आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत सराङघाट सबस्टेसन निर्माण गरिएको हो ।

    उद्घाटन कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले करिब दुई वर्षभित्रमा सबै नेपालीको घरमा विद्युत्को पहुँच पुर्याउने गरी काम भइरहेको बताए । ‘सबै नेपालीको घरमा विद्युत् पुर्याउने नेपाल सरकारको लक्ष्यलाई पूरा गर्न विद्युतीकरणको अन्तिम माइलको यात्रामा छौं, यसका लागि अधिकांश ठेक्का सम्झौता सम्पन्न भइसकेका छन्, योसँगै विद्युत् पुगेका ठाउँमा आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन प्रणाली सुधारमा व्यापक काम गरिरहेका छौं, घिसिङले भने । 

    विद्युतीकरणमा एसियाली विकास बैंकको ठूलो सहयोग रहेको उल्लेख गर्दै उनले सबस्टेसन निर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए । नेपालले पछिल्लो एक दशकमा  विद्युतीकरणमा उल्लेख्य प्रगति हासिल गरेको उल्लेख गर्दै नेपाल आवासीय नियोग प्रमुख कुश्वाले भने, ‘विश्वको विद्युत् पहुँचको वार्षिक बृद्धिदर औसतमा ०.८ प्रतिशत रहेकोमा यसको तुलनामा नेपालको धेरै तिब्र दर अर्थात ४.३ प्रतिशत रहेका छ, विद्युत प्राधिकरणको नेतृत्वमा भइरहेको यो कामको हामी प्रशंसा गर्दछौं ।’  उनले नेपालको पूर्वाधार क्षेत्रमा एडिबीको लगानी निरन्तर रहने बताए ।

    प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत कार्यान्वयन भएको ‘तनहुँ ग्रामीण विद्युतीकरण तथा वितरण सञ्जाल सुधार आयोजना’मार्फत निर्माण गरिएको प्रसारण लाइन शुक्रबार र सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको थियो ।

    आँबुखैरेनी गाउँपालिकास्थिति मार्कीचोक सबस्टेसनदेखि बन्दिपुर गाउँपालिकाको डुम्रेसम्मको ३३ केभी प्रसारण लाइनलाई ट्यापिङ गरिएको छ । प्रसारण लाइनलाई बन्दीपुर गाउँपालिका वडा नं ५ याम्पाफाँटमा ट्यापिङ गरी सराङघाट सबस्टेसनसम्म पुर्याउने १९ किलोमिटर लामो ३३ केभी लाइन पनि निर्माण सम्पन्न भएको छ । यसमध्ये एक हजार एक सय ३० मिटर प्रसारण लाइनलाई भूमिगत गरिएको छ ।

    तनहुँ जलविद्युत आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत आयोजना प्रभावित तनहुँ जिल्लामा विद्युतीकरण गर्न र विद्युत आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन सबस्टेसन र प्रसारण लाइन निर्माण गरिएको हो । आयोजना अन्तर्गत कै तनहुँको शुक्लागण्डकी  नगरपालिका–५ स्थिति खैरेनीटार सबस्टेसनबाट घिरिङसम्म १९ किलोमिटर ३३ केभी प्रसारण लाइन र ३३÷११ केभीको घिरिङ सबस्टेसन यसअघि नै निर्माण सम्पन्न भई सञ्चालित छन् ।

    सराङघाट सबस्टेसनमा ६÷८ एमभिए क्षमताको पावर ट्रान्सफर्मर राखिएको छ । स्थानीय रुपमा विद्युत आपूर्तिका लागि सबस्टेसनबाट ११ केभीका तीन वटा फिडर लाइन निकालिएको छ । एउटा फिडर जगेडामा राखिएको छ । सबस्टेसनमार्फत तनहुँको आँबुखैरेनी, बन्दिपुर र देवघाट गाउँपालिकामा विद्युत आपूर्ति भइरहेको छ । यसबाट त्यस क्षेत्रका उपभोक्ताहरुले  भरपर्दो र गुणस्तरीय विद्युत आपूर्ति पाएका छन् ।  

    आयोजना प्रमुख बोधराज ढकालले तनहुँ जिल्ला सारभूतरुपमा पूर्ण विद्युतीकरण भएको उल्लेख गर्दे दुई महिनाभित्र पूँजिकरणको काम सम्पन्न गरी आयोजना बन्द गरिने बताए।

    दुई वटा सबस्टेसन निर्माण तथा तनहुँको विद्युतीकरणका लागि इष्ट इन्डिया उद्योग÷वाइवा इन्फ्राटेक जेभीसँग २०७५को मंसिरमा ठेक्का सम्झौता भएको थियो । करिब ८० लाख अमेरिकी डलर  अनुमानित लागत रहेको आयोजना नेपाल सरकार तथा विद्युत प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलितपूर्ण ऋणमा कार्यान्वयनमा ल्याइएको हो । आयोजनाबाट २२० किलोमिटर फिडर लाइन र ३५० किलोमिटर वितरण लाइन निर्माण गरिएको छ ।


    images
    images

    Logo