काठमाडौं । माघ महिनासम्ममा ७ वित्तीय संस्थाहरु घाटामा गएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको माघ महिनाको विवरण अनुसार हालसम्म अस्थित्वमा रहेका बैंक तथा वित्तीय संस्थामध्ये सो संख्या बराबरको वित्तीय संस्थाहरु नोक्सानीमा गएका हुन् ।
यसरी नोक्सानीमा जाने वित्तीय संस्थाहरुमा एक्सेल डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, सालपा विकास बैंक, प्रोगेसिभ फाइनान्स र समृद्धि फाइनान्स रहेका छन् । माघ महिनासम्ममामा ती संस्थाहरुको नोक्सानी ५४ करोड ८६ लाख रुपैयाँ रहेको छ ।
यो अवधिमा सबैभन्दा धेरै नोक्सानीमा गएको संस्थामा सप्तकोशी डेभलपमेन्ट बैंक रहेको छ सो बैंकले सबैभन्दा धेरै २५ करोड ८७ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ । गत पुससम्म सो बैंक २ करोड ५२ लाख घाटामा रहेको थियो ।
त्यस्तै, समृद्धि फाइनान्सले सो अवधिमा १३ करोड २९ लाख रुपैयाँ बराबरको घाटा व्यहोरेको छ । गत महिना सो कम्पनी ७ करोड ७३ लाख रुपैयाँ घाटामा रहेको थियो ।
त्यस्तै, एक्सेल डेभलपमेन्ट बैंकले ६ करोड ४५ लाख रुपैयाँ घाटा व्यहोरेको छ । गत महिनासम्ममा सो कम्पनीले २ करोड ३२ लाख रुपैयाँ बराबरको नाफा गरेको थियो ।
प्रोगेसिभ फाइनान्सकोे सो अवधिसम्ममा ३ करोड ३० लाख रुपैयाँ घाटा रहेको छ । गत महिनासम्म सो कम्पनीको घाटा १ करोड ३० लाख रुपैयाँ रहेको थियो ।
त्यस्तै, सिन्धु विकास बैंकले पनि २ करोड ८० लाख बराबरको घाटा व्यहोरेको छ । सो कम्पनीको गतमहिनासम्म १ करोड ८७ लाख रुपैयाँ घाटामा थियो ।
त्यसैगरी, नारायणी डेभलपमेन्ट बैंकले यो अवधिमा २ करोड ६ लाख रुपैयाँ घाटा व्यहोरेको छ । सो बैंकको अघिल्लो महिनासम्म १ करोड ३९ लाख रुपैयाँ घाटा रहेको थियो ।
त्यस्तै, सालपा विकास बैंकले पनि १ करोड ६ लाख रुपैयाँ बराबरको घाटा व्यहोरेको छ । सो कम्पनीले गत महिना पुससम्म १ करोड ३ लाख रुपैयाँ बराबरको घाटा व्यहोरेको थियो ।



