images
images

८ महिनामा लाभांशवापत करिब साढे १३ अर्ब नाफा विदेशियो, फागुनमा मात्रै ३ अर्ब 


  • 267
    SHARES
  • २०७९ चैत्र ३ गते शुक्रबार

    ८ महिनामा लाभांशवापत करिब साढे १३ अर्ब नाफा विदेशियो, फागुनमा मात्रै ३ अर्ब 

    काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनामा लाभांशवापत करिब साढे १३ अर्ब रुपैयाँ रकम विदेशिएको छ । उद्योग विभागका अनुसार चालु आर्थिक बर्षको फागुन मसान्तसम्म १३ अर्ब ४५ करोड ९८ लाख ७८ हजार ३ सय २४  रुपैयाँ लाभांशवापत रकम फिर्ताको सिफारिस गरेको हो । 

    विभागले आठ महिनामा रोयल्टीबापत २ अर्ब ८ करोड ९३ लाख ९७ हजार १ सय ७ रुपैयाँ, ११ लाख ४८ हजार ७ सय ६० अमेरिकी डलर, ३० करोड ४७ लाख ५० हजार ८ सय २५ भारतीय रुपैयाँ तथा सात हजार युरो विदेश लैजानका लागि सिफारिस गरेको छ । विभागको सिफारिस र नेपाल राष्ट्र बैंकबाट स्वीकृतीपछि १५ दिनभित्र रकम लैजान पाइन्छ ।

    फागुनमा मात्रै ३ अर्ब रुपैयाँ सिफारिस

    विभागले फागुनमा मात्रै लाभांशवापत करिब ३ अर्ब रुपैयाँ विदेश लैजानका लागि सिफारिस दिएको छ । विभागले २ अर्ब ८ करोड १० लाख ८३ हजार विदेश लैजान सिफारिस गरेको हो । रोयल्टीवापत फागुनमा मात्रै ३३ करोड ३० लाख ९१ हजार ५ सय ३७ रुपैयाँ, २ लाख ५० हजार २४ अमेरिकी डलर, बीस लाख १० हजार ५५ २५ भारतीय रुपैयाँ फिर्ता लैजाने गरी स्वीकृति प्रदान गरेको छ ।

    शाखाका प्रमुख शङ्करसिंह धामीका अनुसार गत आवको तुलनामा चालु आवमा विदेशिने रकम बढ्ने विभागको अनुमान छ । “गत आर्थिक बर्षमा विभागले विदेशी लगानीका उद्योगको नाफा तथा रोयल्टीबापतको रकम लैजान कडाइ गरेको थियो, गत वर्ष कडाइ गर्दा अहिले लाभांश तथा रोयल्टी रकम धेरै विदेशिने अनुमान छ”, उनले भने ।

    चालु आर्थिक बर्षको फागुनसम्म विभागले व्यवसायी भिसाअन्तर्गत १ हजार ६९ जना लगानीकर्ता, १ सय ५० जना प्रतिनिधि र ३ सय ९२ जना आश्रितका लागि सिफारिस गरेको छ । फागुनमा मात्रै विभागले १ सय २३ जना लगानीकर्ता, २९ जना प्रतिनिधि र ७५ जना आश्रितका लागि भिसा सिफारिस गरेको छ । 

    विभागका अनुसार फागुनसम्म दुई सय ३९ उद्योगका लागि ३१ अर्ब २१ करोड ११ लाख ३२ हजार १ सय ९६ रुपैयाँ लगानीको प्रतिबद्धता प्राप्त भएको छ । 


    images
    images

    Logo