काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० करोड रुपैयाँ बराबरको बैदेशिक रोजगार बचतपत्र २०८४‘क’ विक्री गर्ने भएको छ । बैंकले ५ बर्षे अवधिको लागि वार्षिक १२.५० प्रतिशत व्याजदर दरले व्याजदिने गरि उक्त बचतपत्र विक्री गर्ने लागेको हो ।
बचतपत्रमा फागुन १४ गतेदेखि चैत ३ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ जसको निष्काशन चैत १० गते गरिने राष्ट्र बैंकले जनाएको छ। बचतपत्रको सावाँ फिर्ता २०८४ चैत १० गते हुने छ ।
प्रत्येक ६÷६ महिनामा ब्याज दिइने उक्त बचतपत्र खरीद गर्न घटीमा १० हजार र बढीमा कुल निष्काशित रकमको सीमा नबढाई १० हजारले निःशेष भाग जाने अंक बराबरको रकमको लागि आवेदन दिन पाइनेछ। उक्त बचतपत्र नेपाली नागरिकले मात्र खरीद गर्न पाउनेछन् ।
बचतपत्र खरिद गर्न चाहनेले नेपाली नागरिकता प्रमाणपत्र, नाबालकको हकमा बचतपत्र खरिद गर्ने भएमा संरक्षको नागरिकता र जन्मदर्ताको प्रतिलिपि तथा दुई प्रति पासपोर्ट साइजको फोटोसमेत पेश गर्नुपर्नेछ ।
नेपाली नागरिकले मात्र खरिद गर्न पाउने सो बचतपत्र धितो राखी राष्ट्र बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थाबाट समेत कर्जा लिन सकिनेछ ।



