काठमाडौं । नेपाल बैंकर्स संघले कर्जा र निक्षेप दुबैको व्याजदर घटाउने निर्णय गरेका छन् । बिहीवार बसेको संघको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
सो बैठकको निर्णय अनुसार चैत महिनाका लागि वाणिज्य बैंकहरुको साधारण बचतमा ०.४ प्रतिशत र कर्जामा १ प्रतिशत प्रिमियम दर घटाउने निर्णय भएको छ । हाल बैंकहरुले आधारदरमा ६ प्रतिशतसम्म कर्जामा प्रिमियम लिने गरेका छन् । अब भने कर्जाको आधार ब्याजदरमा थप ५ प्रतिशत मात्रै प्रिमियम लिने निर्णय भएकाे छ ।
त्यस्तै, अब चैतदेखि बैंकहरुले साधारण बचतको व्याजदर न्युनतम ६ प्रतिशत र अधिकतम ८ प्रतिशतसम्म ब्याज बचतकर्तालाई दिने भएका छन् । हाल सामान्य बचतमा वाणिज्य बैंकहरुले ६.४२ देखि ८.४ प्रतिशतसम्म ब्याजदर दिइरहेका छन् ।
मुद्दति निक्षेपको ब्याजदर भने स्थीर राखिएको छ । हाल बैंकहरुले मुद्दती निक्षेपमा ११ प्रतिशत ब्याज दिइरहेका छन् । यस्तैगरी, संस्थागततर्फ नौ प्रतिशत र रेमिट्यान्स मुद्दति खातामा १२ प्रतिशत ब्याजदर तोकिएको छ ।
उद्योगी व्यवसायी तथा निजी क्षेत्रका प्रतिनिधिमूलक सङ्घ संस्थाले तत्काल बैंक तथा वित्तीय संस्थाको ब्याज घटाउनुपर्ने माग गर्दै आएका छन् । चौतर्फी दबाब बढेपछि बैंकर्स सङ्घले सामान्य अङ्कले मात्रै ब्याजदर घटाउने निर्णय गरेका हुन् ।



