काठमाडौं । बैंकहरुको निक्षेप एकैदिन ६ अर्ब रुपैयाँले घटेको छ । नेपाल राष्ट्र बैंकको विवरण अनुसार फागुन १५ गते बैंकहरुको निक्षेप सो रकम बराबर घट्न पुगेको हो ।
फागुन १४ गते ५३ खर्ब ८३ अर्ब रुपैयाँ रहेको निक्षेप १५ गते एकैदिन ६ अर्ब रुपैयाँले घटेर ५३ खर्ब ७७ अर्ब रुपैयाँमा झरेको छ । त्यस्तै, सोही समयमा वाणिज्य बैंकहरुको निक्षेप पनि एकैदिन ५ अर्ब रुपैयाँले घटेको छ । फागुन १४ गते ४७ खर्ब ४५ अर्ब रुपैयाँ रहेको थियो १५ गते सो रकम ५ अर्बले घटेर ४७ खर्ब ४० अर्ब रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरि, सोही समयमा अन्य बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप भने १ अर्ब रुपैयाँले घटेको छ । १४ गते ६ खर्ब ३८ अर्ब रुपैयाँ रहेको निक्षेप १५ गते १ अर्बले घटेर ६ खर्ब ३७अर्ब रुपैयाँमा झरेको छ ।
यसरी बैंकहरुको निक्षेप एकैदिन ६ अर्बले घट्दा कर्जा लगानी भने २ अर्ब रुपैयाँले बढेको छ । फmागुन १४ गते ४८ खर्ब १९ अर्ब रहेको कर्जा लगानी १५ गते २ अर्बले बढेर ४८ खर्ब २१ अर्ब रुपैयाँ पुगेको छ । सो समयमा वाणिज्य बैंकको कर्जा लगानी १ अर्बले बढेर ४२ खर्ब ७७ अर्ब रुपैयाँ रहेको छ भने अन्य बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी ५ खर्ब ४४ अर्ब रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।
फागुन १५५ गते बैंकहरुको सीडी रेसियो पनि बढेर ८६.२२ प्रतिशतमा पुगेको छ ।



