काठमाडौं । अङ्ग्रेजी वर्ष सन् २०२३ को फेब्रुअरी महिनामा ७३ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार वर्षको दोस्रो महिना हवाई मार्ग भएर ७३ हजार दुई सय ५५ पर्यटकले नेपाल भ्रमण गरेका छन् । जनवरी महिनामा ५५ हजार ७४ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए ।
अघिल्लो वर्ष सन् २०२२ को फेब्रुअरीमा १९ हजार ७ सय ६६ पर्यटकको नेपाल आगमन भएको थियो । सन् २०२१ को सोही महिनामा ९ हजार एक सय ४६ पर्यटकले नेपाल भ्रमण गरेका थिए । पछिल्ला दिनमा विदेशी पर्यटक आगमन उत्साहबर्द्धक रहेको बोर्डका निर्देशक मणिराज लामिछानेले बताए। फेब्रुअरीमा भारतबाट १८ हजार ४ सय १ पर्यटक आएका छन् । अमेरिकाबाट ८ हजार ८ सय ८७ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।
त्यस्तै, थाइल्याण्डबाट ४ हजार ८ सय दुई, दक्षिण कोरियाबाट ३ हजार २ सय ४६, अष्ट्रेलियाबाट २ हजार ९ सय ६९, चीनबाट २ हजार २ सय ६६, म्यानमारबाट २ हजार २ सय ३२, श्रीलङ्काबाट २ हजार १ सय १७ र जर्मनीबाट २ हजार १ सय ८ पर्यटक नेपाल भित्रिएका छन् ।
पप्छिल्लो तथ्याङ्कले महामारीपछि फेब्रुअरी महिनामा हालसम्मकै उल्लेख्य सङ्ख्यामा पर्यटक आएको देखिन्छ । कोभिड–१९ महामारीका कारण घटेको विदेशी पर्यटकको सङ्ख्या सन् २०२२ मा भने केही बढेको थियो । उक्त वर्ष ६ लाख १४ हजार १ सय ४८ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । महामारीपूर्व सन् २०१९ मा ११ लाख ९७ हजार ९१ जना पर्यटक नेपाल आएका थिए ।
तर सन् २०२० मा कोरोना महामारीका कारण विदेशी पर्यटकको सङ्ख्या ८१ प्रतिशतले कमी आई २ लाख ३० हजार ८५ जना पर्यटक नेपाल भित्रिएका थिए । त्यसैगरी २०२१ मा भने १ लाख ५० हजार ९ सय ६२ पर्यटक नेपाल आएका थिए ।



