काठमाडौं । चितवन २ को उपनिर्वाचनको लागि फागुन २२ गतेदेखि मतदाता नामावली अद्यावधिक गरिने भएको छ । निर्वाचन आयोगले मतदाता सूचीमा हाल कायम रहेको नामावलीमा रहेका त्रुटिहरु सच्याउने, मतदाताहरुउपर दावी विरोध गर्ने एवं त्यस्तो उजुरीउपर छानबिन गर्ने, मृत्यु बसाईँसराई वा नागरिकता त्याग भएका मतदाताको विवरण संकलन गरी मतदाता नामावलीबाट हटाउने लगायतका कार्यक्रम तालिका सार्वजनिक गरेको हो ।
यो प्रक्रिया चैत १ गतेसम्म पूरा गरेर अन्तिम नामावली प्रकाशन गर्ने आयोगको तयारी छ । सरकारले वैशाख १० गतेका लागि सो क्षेत्रमा उपनिर्वाचनको मिति तय गरेसँगै आयोग यसको तयारीमा जुटेको हो । सो क्षेत्रबाट निर्वाचित सांसद रवि लामिछानेको नागरिकता गैरकानुनी भएको सर्वोच्चको फैसलापछि सांसद पद हाल रिक्त छ ।