काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले दोहोरो सुविधा लिइरहेका आफ्ना आजीवन सदस्यहरुलाई दिइँदै आएको मासिक पारिश्रमिक कटौति गरेको छ । काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतिष्ठानले सो निर्णय गरिएको जानकारी गराएको हो ।
प्राज्ञहरुबाटै उन्नत नैतिकताको पाठ सिकाउन आफूहरुले सो निर्णय गर्नुपरेको प्रतिष्ठानका कुलपति भुपाल राईले बताए । उनले दोहोरो सुविधा लिएका आजीवन सदस्यहलाई दिइएको पारिश्रमिक रोकेर त्यसबाट बचेको रकम प्राज्ञिक क्षेत्रमा, सृजनाशील क्षेत्रमा लगानी गर्ने योजना रहेको पनि जानकारी दिए । त्यस अवसरमा प्रतिष्ठानका पदाधिकारीहरुले आफूहरुले पनि राज्यबाट दोहोरो सुविधा नलिने घोषणा गर्नुभएको थियो । नेपाली हुनुको उच्च नैतिकता सिकाउन आफूहरुले नै यस्तो निर्णय लिएको पनि कुलपति राईले बताएयो ।
उनले भने, ‘अब यो नैतिकतासँग पनि गाँसिएको विषय हो । दोहोरो सुविधा लिने भन्ने कुरा चाहीँ के हो भने जति भेटे पनि जहाँ भेटे पनि खानैपर्ने प्रवृत्ति नेपाली प्रवृत्तिको रुपमा देखाप¥यो । यो प्रवृत्ति नैतिकतासँग पनि गाँसिएको विषय हुनाले पनि अव नेपाल प्रज्ञा प्रतिष्ठानले चाहीँ यही हाम्रो कार्य समितिको समयबाट यो कामको शुरुवात गरौं भन्ने निर्णय गरेको हो । किनभने यो त प्रज्ञा प्रतिष्ठान हो । यसले हामीलाई संस्कार सिकाउँछ ।
भाषा, साहित्य र संस्कृतिको कुरा मात्रै होइन । यसले त मानवीय संस्कृति पनि सिकाउँछ । नेपाली हुनुको उन्नत नैतिकता पनि सिकाउ, उदाहरण पनि दिऊँ भनेर हामीले आफूले पनि सो घोषणा गरेका छौं । अब हामी एउटा प्रक्रियामा जान्छौं दोहोरो सुविधा लिनेहरु को–को हुनुहुन्छ ? त्यो त अवश्य थाहा हुन्छ नि ।
२० जनालाई यो हाम्रो एकेडेमीको स्रोतबाट बाँड्दाखेरी १ करोड २० लाख भन्दा बढी हुन्छ वार्षिक । यसमा सरदर आधि मात्रै बच्यो भने पनि अथवा आधि मात्रै त्यो स्रोत दोहन गर्न दिइएन भने हामीले त्यो रकम एउटा प्राज्ञिक क्षेत्रमा राम्रै ढंगले काम गर्नसक्छौं । प्राज्ञिक क्षेत्रमा, सृजनशील क्षेत्रमा लगानी गर्नेवाला छौं ।’
हाल प्रतिष्ठानमा आजीवन सदस्य रहनुभएकाहरुले ५१ हजार ४ सय ४७ रुपैयाँ मासिक पारिश्रमिक लिँदै आएका थिए । प्रतिष्ठानबाट वार्षिक करिव १ करोड २० लाख दोहोरो सुविधा लिने गरेकोमा यसलाई कटौति गरेर बचेको बजेटले प्राज्ञिक क्षेत्रमा नै केही गरौं भन्ने भावना रहेको पनि प्रतिष्ठानले जनाएको छ ।
त्यसैगरी प्रतिष्ठानका परिषद् सदस्यहरुको कार्य विभाजन पनि गरेको छ । जस अनुसार कुलपति राईलाई संस्कृति, लोकवार्ता तथा मौलिक इतिहास विभागको जिम्मेवारी दिइएको छ । त्यसैगरी बाल साहित्य विभागको जिम्मेवारी उपकुलपति विमल निभा, साहित्य प्राज्ञ डा. मधुसुदन गिरी, दर्शन शास्त्र विभाग प्राज्ञ डा.कृष्णराज अधिकारी, साहित्य (मातृभाषा) प्राज्ञ राजन मुकारुङ, साहित्य पद्य/काव्य विभागको जिम्मेवारी प्राज्ञ बाबा बस्नेत दिइएको छ ।
प्रा.डा. कौशिला रिसाललाई सामाजिक शास्त्र, प्राज्ञ हंसावती कुर्मीलाई अनुवाद, प्राज्ञ अमर न्यौपानेलाई साहित्य (गद्य), प्राज्ञ त्रैलोक्यमान बनेपालीलाई भाषा (मातृकोष, कोश र व्याकरण), र सदस्य सचिव डा। धनप्रसाद सुवेदीलाई भाषा (कोष र व्याकरण) विभाग हेर्ने जिम्मेवारी दिने निर्णय गरिएको प्रतिष्ठानले जनाएको छ । -न्युज एजेन्सी नेपाल



